सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार ठेक्का लगाएका योजनामा पनि उपभोक्तासंग सम्झौता गर्दै

२०७८ साउन १५, ०७:२१ कमल सावद

धनगढी: धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ मा पर्ने जाई–जाली कुलो निर्माणका लागि २०७६ असोज २३ गते सम्झौता भयो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले केएस रोयल जेभीसँग ८ करोड ८३ लाख ६० हजारमा निर्माणको सम्झौता गरेको थियो।

२०७८ को असोज २२ गते निर्माणको समय अवधि रहेकोमा २०७७ को असोज १ गते काम पूरा भएको तथ्याँक प्रदेश सरकारको छ। काम सम्पन्न सम्झौता अवधिभन्दा अगाडि भएपछि ९ करोड ४ लाख ५४ हजार बढी रकम भुक्तानी दिएको जलस्रोत तथा सिँचाई डिभिज कार्यालयका सव–इन्जिनियर जनक खड्काले बताए। ‘बिचमा केही आइटम थपिएकाले रकम पनि बढी भुक्तानी दिएका हौ। उपभोक्ता समितिले पनि काम सकेको छ। हामीले मन्त्री ज्यूबाट उद्घाटन गराएका छौ,’ उनले भने। बाँध निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का गरिएकोमा पुनः जलस्रोत तथा सिँचाई डिभिजन कर्यालयले २०७७ चैत ८ गते उपभोक्ता समितिसँग ८४ लाख ६७ हजारको काम गर्न भन्दै सम्झौता गरेको छ।

कुलोको बाँध, निर्माण कम्पनीले बनाउने र कुलो उपभोक्ता समितिले बनाउने सम्झौता भएको हो। ठेक्का गरिएको क्षेत्रमै उपभोक्ता समितिले समेत काम गरेको छ। तर उपभोक्ता समितिले कुलो निर्माणको काम नगर्र्दै प्रदेश सरकारले रकम भुक्तानी दिएको छ। उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौधरीले केही काम गर्न बाँकी रहेको बताए। तर कागजमा काम पूर्ण भएको उनले सुनाए। उनले भने, ‘एक सय ६५ मिटर पक्कि नाली निर्माण गर्नु छ। पानीका कारण काम गर्न सकेका छैनौ। हिउँदमा एक फिट खन्छौ। पहिलोको जस्तो पानी ल्याउछौ।’

प्रदेश सरकारले झण्डै १० करोड खर्चेर निर्माण गरेको जाई–जाली बाँधको पानी कुलोमा भने बग्दैन्। पूरानो कुलोभन्दा खेतको उचाई बढी भएकाले पानी उल्टो बग्दै आएको हो। वर्षौदेखि उक्त कुलाको पानीले रोपाई गर्दै आएको र यो वर्ष रोपाई गर्न नपाएको किसानले गुनासो गरेका छन्। खेतभन्दा कुलोको बाँध होचो भएकाले खेतमा पानी नआएको किसान बुझवा चौधरीले बताए। ‘यो कुलोमा पानी बग्दैन्। मुहान भन्दा खेतको उचाई बढी भएकाले मोहना तिर बग्छ। पहिले सबैको खेतमा पानी जान्थ्यो। अहिले जाँदैन्,’ उनले भने। बर्षौदेखि सञ्चालन हुँदै आएको उक्त कुलोको चौडाई १६ देखि २१ मिटरको थियो। अहिले कुलोे ८ मिटरमा झारिएको छ। शाखा कुलोहरु पनि सबै मर्मत गरिएको छैन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस