सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा वर्षाले अवरुद्ध भएका गामीण सडक अझै खुलेनन्

२०७८ साउन १४, ०३:३८ रासस

डोटी: वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन्। भारी वर्षात्का कारण कम्तीमा पनि एक दजर्न बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए। यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा रहेका व्यापारीले अहिले गाउँमा दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको स्थानीयवासी उपभोक्ताको आरोप छ।

यातायातका साधन नहुँदा भरियाका सहायतामा सामान ढुवानी गर्नुपरेका कारण दैनिक उपभोग्य वस्तुको गाउँमा मूल्यवृद्धि गरिएको व्यापारी बताउँछन्। गाउँघरमा अहिले खानेतेल लिटरको २००, नुन प्रतिकिलो ४०, चिनी रु २०० सम्म लिने गरेको बडिकेदार गाउँपालिकाका स्थानीय उपभोक्ता रामबहादुर खत्रीले जानकारी दिए।

वर्षाले ठाउँठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द भएका छन्। पहिराका कारण अवरुद्ध भएका यहाँका सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको शैलेश्वरी यातायात प्रालि दिपायलले जनाएको छ। प्रशासनले यातायात सञ्चालनका लागि अनुमति दिए पनि वर्षाले अवरुद्ध भएका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण गाडी चलाउन समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताए।  

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका दिपायल–गड्सेरा, नापानी, राजपुर बोगटान, बिपीनगर–गड्सेरा, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोटलगायत सडक बिग्रिएर बन्द अवस्थामा छन्।

कमेन्ट लोड गर्नुस