सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाका एक कोरोना संक्रमित २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज

२०७८ साउन १३, ०१:१७ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन्। सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो। ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए।

गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कोरोना संक्रमण देखिनुभन्दा पहिला मधुमेह र प्यांक्रियाटिटिजको समस्या देखिएको थियो।

अस्पतालमा सबैभन्दा लामो समय बस्ने बिरामी रहेका हन्टलाई परिवारले आशा मारिसकेका थिए। तीनपटक उनीहरु अन्तिम बिदाइको लागि अस्पताल आएका थिए। पेशाले शिक्षक हन्टलाई भेन्टिलेटरमा राखिएको थियो र डाक्टरहरुलाई पनि अब उनी बाँच्छन् भन्ने लागेको थिएन।

हन्टले पनि आफूलाई अब धेरै सय समय बाँचिदैन भन्ने लागेको बताएका थिए। उनलाई डाक्टरहरुले पनि अब लामो समय बाँच्न नसक्ने बताइसकेका थिए। प्यांक्रियाटिटिजको उपचारको क्रममा सातपटक उनको अपरेसन गरिएको थियो। शरीरका धेरै अंगहरुले काम गर्न छाडिसकेको र दुईवटा रोग एकै समय लागेकाले उनको बाँच्ने सम्भावना निकै कम देखिएको उपचारमा संलग्न डाक्टर भास्कर कुमार बताउँछन्। तर, डाक्टरहरुले आफ्नो तर्फबाट प्रयास भने जारी राखे।

शुक्रबार अस्पतालबाट डिस्चार्ज भएपछि हन्टले मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरे। ‘यो रोग लाग्ने जोखिम निकै कम हुनु निकै ठूलो कुरा हो,’ उनले भने, ‘तपाईंले आफ्नो  र आफ्ना प्रिय मान्छेहरुलाई सुरक्षित गर्न खोप लगाउनुपर्छ। यो धेरै ठूलो कुरा हो।’

अहिले हन्टलाई हिँड्नको लागि कसैको सहारा चाहिन्छ। छिट्टै नै पहिले जसरी नै हिँड्न सक्ने उनले विश्वास लिएका छन्। एजेन्सीहरुको सहयोगमा

कमेन्ट लोड गर्नुस