सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीमा पानी निकासबारे अध्ययन गर्न कुनै सम्झौता भएको छैन’

२०७८ साउन १२, ०६:४६ कमल सावद

धनगढी- धनगढीमा पानी निकासबारे अध्ययन गर्न कुनै सम्झौता नभएको परामर्शदाता कम्पनीको पनि स्पष्ट पारेको छ।

धनगढी उप–महानगरपालिकाले वडा नम्बर २, ३, ४ र १३ को पानी निकासबारे अध्ययन गर्न परामर्श दाताको टोली खटिएको दाबी गरेका बेला उक्त कम्पनीले कुनै सम्झौता नभएको स्पष्ट पारेको हो।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि उप–महानगरपालिकाको पानी निकासबारे अध्ययन गर्न कुनै सम्झौता नभएको जनाएको थियो। त्यसपछि कुनै तयारी र सम्झौताबीना कार्यदल गठन गर्दै उपमहानगरपालिकामाथि भ्रम फैलाएको आरोप लाग्न थालेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने कल्भर्टबाट बर्सातको पानी निकास नभएको भन्दै अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्श दाताको टोली पठाएको दाबी उपमहानगरपालिकाले गरेको थियो। उपमहानगरले ग्रीन नेपाल नामक कन्सल्टेन्सीका प्रतिनिधि धनगढी आएर फर्किएको दाबी गरेको थियो।

तर भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र उक्त परामर्श दाता कम्पनीले कुनै सम्झौता नभएको बताएका छन्। उक्त परामर्श दाता कम्पनीका सञ्चालक सन्जय अधिकारीले आफूहरुसँग कुनै सम्झौता नगरेको बताएका छन्। ‘सम्झौता भएको छैन तर सम्झौताको प्रक्रिया सुरु गरिसक्नुभएको छ। हामी अध्ययन गर्दैछौ। अध्ययन सकिएपछि आउँछौ। अहिले गुगलबाट हेर्दैछौ पानी निकासका लागि।’ धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बिहीबार उपमहानगरको भौतिक पूर्वाधार शाखालाई पत्र लेख्दै परामर्श दाताको समूहलाई सहयोग गर्न ६ सदस्यीय कार्यदल गठन गरेको पत्र पठाएका छन्।

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपमहानगरपालिकामा कुनै औपचारिक पत्र आएको छैन। धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दले कार्यदल गठन गरेको तर पत्रको बारेमा अवभिज्ञता प्रकट गरेका छन। ‘एक जना उताबाट आएका हुन्। हामीले पनि सहयोग गरेको हुँ। चिठ्ठी म खोज्छु’ उनले भने। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पठाएको भनिएका ग्रीन नेपाल कन्सलटेन्सीका प्रतिनिधि अनिश देवकोटा धनगढी पुगेर फर्किएका छन्। उनले मोहनापुल–अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने कल्भर्टको तस्वीर मात्र लिएर फर्किएका हुन्। ‘कल्भर्टको मात्र काम हो। ६ लेनको छेउछाउको घरबाट पानीको निकास कसरी गर्न सकिन्छ भने अध्ययन गर्छाै। यो बर्खाका लागि हुँदैन। अब अर्काे बर्खाका लागि’ उनले भने।

मोहनापुल–अत्तरिया ६ लेन सडकको दाँया–बाँया पर्ने वडा नम्बर २, ३, ४ र १३ को पानी निकासमा भइरहेको समस्या समाधन गर्न संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्श दाता कम्पनी पठाउने उप–महानगरपालिकाले बताउदै आएको छ। तर मन्त्रालयले यसअघि नै पानी निकासको जिम्मेवारी आफ्नो नभएको र त्यसबारे कुनै परामर्श दाता कम्पनीसँग सम्झौता नभएको स्पष्ट पारिसकेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस