धनगढीमा ५० शय्याको आइसोलेसन निर्माणको काम अझै पूरा भएन
धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय कैलालीले कोरोना भाइरसका संक्रमितका लागि ५० शय्याको आइसोलेसन भवन निर्माणको काम अगाडि बढाएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा आव्हान गरिएको भवन निर्माणको ठेक्का असार मसान्तमा काम सक्नुपर्ने गरी किनारा कन्सट्रक्सनसँग सम्झौता भएको थियो।
तर एक करोड ४९ लाखको उक्त भवन निर्माणको काम अझै पूरा भएको छैन। निर्माण व्यवसायी रोहित रानाले केही काम बाँकी रहेको बताए। उनले २० गतेसम्म भवन निर्माणको काम पूरा हुने बताए। ‘खानेपानीको काम बाँकी छ। २० गते हस्तान्तरण गर्ने भनेका छौ’ उनले भने।
सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको कोरोना अस्थायी अस्पतालसँगै जोडेर भवन निर्माणको काम जारी छ। उक्त भवनमा सेती प्रादेशिक अस्पतालले नै आइसोलेसन सञ्चालन गर्नेछ।
तर आइसोलेसन भवनको शौचालय, खानेपानी, विद्युत तथा अक्सिजन पाइप जडानको काम अझै पूर्ण भएको छैन। स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले थ्री फेज विद्युतका लागि निवेदन दिएको बताए। विद्युत र खानेपानीको काम बाहेक सबै काम भएको उनले बताए।
स्वास्थ्य कार्यालय कैलालीले साउन २० गते सेती प्रादेशिक अस्पताललाई उक्त आइसोलेसन भवन हस्तान्तरण गर्ने लक्ष्य लिएको छ। आइसोलेसन भवनमा अक्सिजन पाइप जडानको काम बाँकी रहेकाले समय लागेको दाबी गरिएको छ। सेती अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर हेमराज पाण्डेले सबै भौतिक संरचना निर्माणको काम पूर्ण भएपछि मात्र हस्तान्तरण गर्न भनेको बताए।
सेती प्रादेशिक अस्पताले ५० शय्याको आइसोलेसनमा कोरोना संक्रमितलाई उपचार गर्दै आएको छ। ५० शय्याको अर्काे आइसोलेसन निर्माणको काम पूरा भए अस्पतालसँग एक सय शय्याको कोरोना अस्थायी अस्पताल हुनेछ।