इन्सपेक्टर हेमराजको नजरमा धनगढी
धनगढी : प्रहरी निरीक्षक(इन्सपेक्टर) हेमराज भट्टसँग एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईको बाल्यकाल कहाँ बित्यो ?
मेरो जन्म डोटीको तत्कालीन भुमिराजमाण्डौ गाविस वडा नम्बर ७ मा भएको थियो। कुमालकोट निम्न माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात भएको थियो। माध्यमिक तह र उच्च माध्यमिक तहको पढाई भने विद्येश्वोर उच्च माध्यमिक विद्यालयबाट गरेको थिएँ। स्नातक तहको शिक्षाको कुरा गर्दा कैलाली बहुमुखी क्याम्पसबाट हासिल गरेको थिए। मास्टर्सको पढाई भने पोल्टीकल साइन्समा त्रिभुवन विश्वविद्यालयबाट गरेको थिए। अहिले फेरि अर्को विषयमा पनि म अगाडि बढाइरहेको छु। त्यसै गरी कानुनको अध्यन पनि अगाडि बढाइरहेको छु।
प्रहरी सेवामा कहिले र कसरी प्रवेश गर्नुभयो ?
प्रहरी सेवामा प्रवेश गर्नुको उत्प्रेरणा परिवारिक पृष्ठभूमि प्रहरी नै हो। मेरो बुवा प्रहरीमा असइबाट रिटायर्ड हुनुभएको थियो। म जागिर खानुभन्दा ३ वर्ष पहिले रिटायर्ड हुनुभएको हो। उहाँको काम, कामगर्ने शैली, प्रहरीले जनतालाई दिने सेवाबाट प्रभावित हुँदा प्रहरी सेवामा आउन बल पुग्यो।
अन्य सरहरु जसले प्रहरीको नाम उच्च राख्न सफल हुनुभयो उहाँहरुको जिवनीबाट पनि म प्रभावित भएको थिए। सुरुमा नै मैले प्रहरी निरीक्षकको लागि काठमाडौबाट तयारी गरेको थिए। बुवालाई म के गर्छु भनेर नभनेको भएपनि उहाँलाई मेरो रुचिको विषयमा थाहा थियो। उहाँले तयारी गर्ने भए यहाँबाट पनि तयारी गर्न सकिन्छ भन्नुहुन्थ्यो। काठमाडौं बुझीसक्नु भएकोले होला उहाँमा एउटा डर थियो। आर्थिक पाटोको कुरामा भन्दा पनि कतै उता गएर सपनाको लागि काम गर्नुभन्दा कुलतमा फस्ने पो होकी भन्ने डर उहाँमा थियो।
त्यसैले धेरै चोटी काठमाडौं न जाउन भन्नुभयो। त्यसपछि मैले बुवालाई भने ‘ठिक छ ड्याडी म तपाईंहरुबाट केही पनि लिदैन अहिले तत्काल केही दिन पनि सक्दैन। भोलि मैले आफैले संघर्ष गरेर केहि प्राप्त गर्नसके भने तपाइँलाई पनि उर्जा दिनेछ।’
यत्ति भनेर म काठमाडौं गएको हुँ। काठमाडौ बस्दाखेरी तयारीको अवधिलाई एक वर्ष जति लिए। कक्षा लिने अवसर थुप्रै थियो तर नाकाबन्दीको समयमा म त्यहाँ थिए। आर्थिक पाटोको कुरामा हुन त आफ्नैसँग माग्ने हो तर घरमा त्यस्तो भनेर निस्केको भएर माग्न सकिएन। तयारी कक्षाको कुरा गर्दा दुई तीन दिन गए। पैसा माग्न थाले। पैसा तिरेका भित्र बस्ने नतिर्ने बाहिर जाने भनेपछि आर्थिक रुपले अप्ठ्यारो भयो र आफू स्वाअध्यन तिर लागे। अग्रज सरहरु जसले भर्खरै नाम निकाल्नुभएको छ, उहाँहरुसँग सिकाई माग्ने अनि साथीहरू जसले कक्षा लिइरहनुभएको थियो उहाँहरुसँग छलफल गर्ने गरेर तयारी गरे। यसरी २०७४ जेष्ठ ७ गतेको दिन मेरो नियुक्ति थियो। तालिम सकिसकेपछि टिकापुरमा नियुक्ति भएको थियो।
धनगढीमा सरुवा भएर आएपछि सबैभन्दा पहिला यो परिवर्तन गर्छु भन्ने केही सपना थियो ?
नागरिक समाजदेखि प्रबुद्ध व्यक्तित्वहरुसँगको सम्बन्धलाई सन्तुलित गरेर स्थापना गर्नुपर्छ। र, यो मेरो आफ्नो ठाउँ पनि हो। सुदूरपश्चिमको प्रतिनिधित्व धनगढी, कैलालीले गर्छ। त्यसैले पनि यहाँ केही सकारात्मक परिवर्तन ल्याउन प्रयत्न गर्नुपर्छ भन्ने थियो।
राम्रो गर्ने प्रयोग त गर्ने नै तर फेरि नराम्रो नहोस् भन्ने विषयमा सचेत थिए। समाजिक कामहरू बढाउने र लागूऔषधको प्रयोगमा नियन्त्रण ल्याउने सपना थियो। यहाँको युवाहरूलाई कसरी कुलतमा लाग्नबाट बचाउने भन्नेमा ध्यान केन्द्रित थियो र त्यसको लागि सुरुमा अप्रेसनपनि चलायौँ र केही सेवनकर्ता र केही बेचबिखन कर्ताहरुलाई पक्राउ पनि गर्यौ।
तर म आए पछिको लगभग २ महिना पछिमा लकडाउन भयो। मेरो प्लानले काम नै गर्न पाएन। कैलाली खुला सीमा नाका भएको ठाउँ हो सबैलाई थाहै छ। सबै ठाउँमा प्रहरी लगाएर राख्न सकिने स्थिति छैन। यसले केही छिटफुट रुपमा आएपनि केही नियन्त्रणमा भने आयो। लागुऔषध आउने भनेको नै भारतबाट हो। त्यसो भएको हुनाले सबै ठाउँमा सूचना पुर्याउनको लागि भनेर नम्बरहरु सेयर गर्यौ र नियन्त्रणमा ल्याउने प्रयास गर्यौं।
प्रहरी हाम्रो लागि हो भन्ने अनुभुती गराउनु, समाजिक कार्यक्रम बढाउने र लागुऔषध नियन्त्रणमा ल्याउने मेरो धनगढी सरुवा भएर आउँदाको सपना थियो।
धनगढीको सबैभन्दा मन परेको पक्ष के अनि दयनीय पक्ष के–के पाउनुभयो ?
यहाँको समस्या कतिपय अवस्थामा सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने। बिरोधको नाममा बिरोध गर्ने, झन्झट बढाउने, घटना भएको ठाउँमा घटनामा सहि रुपले अगाडि बढ्न न दिने प्रवृत्ति छ। अरु ठाउँको तुलनामा यहाँ कम त छ तर छ। र, अर्को दयनीय पक्ष भनेको मान्छे आफ्नो जीवनप्रति सचेत छैन। बुझेको जानेको मान्छे पनि लापरबाहीले दुर्घटनामा परिरहेको हुन्छ।
धनगढीको मज्जाको पक्ष के थियो भने यहाँ मिक्स सोसाइटी छ। मिक्स सोसाइटी भएकोले काम गर्न सहज भयो। शिक्षित वर्गसँग यो कुरा हो वास्तविकता भनेपछी उहाँहरुले बुझ्नु हुन्थ्यो। र, यहाँको राजनीतिक दल, मिडियाकर्मी र समाज सेवीले राम्रो कुराको लागि सहयोग गर्ने परिपाटी देखायो। यो नै यहाँको सबल पक्ष मान्नुपर्छ। यसैले नै पनि होला मेरो यहाँको कार्यकालप्रति सन्तुष्ट छु।
प्राप्त गर्ने हुटहुटी भएको सपना चाहिँ के छ हेमराजको ?
मान्छेले सपना त ठुलो नै देख्छ। पूरा हुने न हुने कुरा मात्रै हुन। यसमा अफ्नो कर्मको पनि भर पर्छ र साथ सहयोग। मान्छेको भाग्य पनि भन्छन् त्यसमा पनि भर पर्छ। मेरो सपना त फ्रेस क्यान्डिडेट भएर प्रहरी निरीक्षकमा नाम निकालेपछि त पक्कै पनि संगठन हाक्ने नै हो। तर आफुले पनि कतीको राम्रो कर्म गर्नुसक्छु र सबैको साथ सहयोग कतिको पाइन्छ भन्नेमा भर पर्छ।
(पूरै विमर्श दिनेश खबरको युट्युबमा हेर्न सक्नुहुन्छ)