सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलले प्रचण्डलाई भनेः म ढलेको छैन

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १०, ०२:३५ खबर संवाददाता

काठमाडौं: सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरू ढलेको भनि दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै आफूले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको दाबीसमेत गरेका छन्।

उनले प्रचण्डलाई एमाले विभाजन गर्न खोजेको आरोप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्रो भूमिका खेलेका नेताहरु पनि नपत्याउँदो ढ‌ङ्गले ढलेको बताएका थिए।

भीम रावलको नाम नलिएर प्रचण्डले भनेका थिए, ‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पीरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्।’

प्रचण्डको यस्तो अभिव्यक्तिपछि शनिबार साँझ विज्ञप्ति निकाल्दै रावलले आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएको जिकिर गरे। ‘प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर म ढलेको होइन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ’, रावलले प्रचण्डलाई जवाफ फर्काएका छन्।

उनले गठबन्धन प्रतिनिधिसभा पुनस्स्थापनाका लागि मात्रै बनेको र सोही क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको दाबी पनि गरेका छन्। गठबन्धनमा सबैको आ–आफ्नो स्वार्थ रहेको पनि रावलले बताएका छन्।

‘देउवालाई प्रधानमन्त्री बन्ने, प्रचण्डलाई आफ्ना मान्छे मन्त्री बनाउने, उपेन्द्र यादवलाई महन्त ठाकुरसँगको संघर्षमा जित हाँसिल गर्ने र माधवकुमार नेपाललाई पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको थियो’, रावलले भनेका छन्।

‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैकासामू लम्पसार पर्न गठबन्धनमा सामेल भएका हैनन्’, रावलले अगाडि भनेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहकार्य गर्ने मात्रै हो।’ रावलले वक्तव्यमार्फत प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानीलगायतका अन्य राष्ट्रिय हितको विषयमा कुरा गर्ने मौका समेत नदिएको आरोप लगाए।

‘एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति होरु,’ उनले प्रश्न गरेका छन्।

आफूले  सांसद पदबाट दिएको राजीनामालाई पाँच दलको गठबन्धन फुटाउने खेल भन्ने प्रचण्डको तर्क हाँस्यास्पद र मनगढन्ते रहेको रावलले दाबी गरेका छन्।

‘मैले स्वस्थ्य राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरूबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैंको भलो नहुने स्पष्ट छ’, उनले भनेका छन्।

कमेन्ट लोड गर्नुस