सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्याका तीन वर्ष : हजार बढीसँग सोधपुछ, सय जनाको डीएनए परीक्षण, उघ्रिएन पर्दा

२०७८ साउन १०, १०:५४ खबर संवाददाता

धनगढी : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन प्रहरी असफल भएको छ। निर्मला वेपत्ता भएको आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दैछ। तर रहश्यको पर्दा अझै उघ्रिएको छैन्। 

तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आश गुमेको बताएका छन्। हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिंगो परिवारले नै असुरक्षित महसुस गरेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,’ उनले भनिन्, ‘दोषीलाई कानुनी दायरमा ल्याउन प्रहरीले चाँसो नै नदिएको भान हुन थालेको छ।’ 

तीन वर्षसम्म दोषी पक्राउ नपरेपछि न्याय पाउने आश मरिसकेको बताउँछिन् दुर्गा। ‘बैतडीकी किशोरी भागरथी हत्या प्रकरणमा अनुसन्धान सफल भएपछि कञ्चनपुर प्रहरी प्रमुखको टोली घरमै पुगेको थियो,’ दुर्गाले भनिन्, ‘अब निर्मलाका दोषी पनि कानुनी दायरामा आउछन् भनिएको थियो। तर अहिले दोषी पक्राउ पर्ने कुनै सुरसार नै देखिदैन्। तर दोषीलाई कारबाही गर्ने इच्छाशक्ति प्रहरीमा भए हामीले न्याय पाउँछु भन्ने शत प्रतिशत विश्वास छ।’

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताउँछन्। ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानको सयुक्त डेडिकेटेड टीमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ,’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले निर्मला हत्या घटनाको अनुसन्धानमा तीन टोली सक्रिय रहेको बताए। ‘निर्मला घटनाको अनुसन्धान अहिले पनि प्रहरीको प्राथमिकतामा छ,’ उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ।’ निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढीसंग सोधपुछ गरिएको बताउँदै उनले अगाडि थपे, ‘झण्डै एक सयजनाको डीएनए परीक्षण भएको छ।’  

यस्तो थियो घटना
कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला प¥यो।

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक ग¥यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे। नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो। 

अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए। विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए। सीआईबीले २/२ महिनाको अन्तरमा विभिन्न टोली पठाएपनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन्। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो।

यो पनि : १) आफ्नै ठाउँका प्रधानमन्त्री भएछन्, अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा’ 

            २) निर्मला हत्याका तीन वर्ष : भयभित दुर्गा

 

 

कमेन्ट लोड गर्नुस