सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्याका तीन वर्ष : भयभित दुर्गा

२०७८ साउन ९, ०२:२४ खबर संवाददाता

- नवराज पनेरु
उल्टाखाम, कञ्चनपुर : ‘छोरी (निर्मला पन्त) को हत्या भएको तीन वर्ष भइसक्यो। अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। यताउता जान पनि डर लाग्छ,’ डेढ घण्टाको भलाकुसारीमा दुर्गाले पटकपटक भनेकी थिइन्। निर्मलाको बलात्कारपछि हत्या भएको तीन वर्षसम्म दोषीलाई कानुनी दायारमा ल्याउन नसक्दाको डर दुर्गामा स्पष्ट झल्किन्थ्यो। 

सोही डरले होला यसपटक दुर्गाले आफ्नी दुई छोरीलाई क्यामेरा अगाडि आउन दिइनन्। ‘जति फोटो खिच्नु छ मेरै खिच्नुस। जति कुरा गर्नु छ मसंगै गर्नुस,’ कान्छी छोरीसंग कुरा गर्न खोज्दा दुर्गाले भनिन्, ‘छोरीको फोटो खिचेर के गर्नुहुन्छ ? तपाईहरुले त ठिकै सोच्नु भएको होला। निर्मलाको न्यायकै लागि काम गरिरहनुभएको छ। तर मिडियामा त्यो फोटो आउँदा कस्ले कसरी प्रयोग गर्छ थाहा छैन्। मलाई डर लाग्छ।’ 

हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिंगो परिवारले नै असुरक्षित महसुस गरेको उनको भनाई थियो। ‘हत्यामा संग्लन अझै पनि खुलेआम छन्। तर को हो ? भन्ने थाहा छैन्। यस्ले घर बाहिर निस्किनै डर लाग्छ,’ दुर्गाले अगाडि थपिन्, ‘प्रहरीको नजरमा रहेका आरोपित पनि घर अगाडिकै बाटो भएर आउजाउ गर्छन्। नहुनु पर्ने घटना त भयो तर दोषी पक्राउ नगर्दा साह्रै असुरक्षित महसुस हुन्छ।’ 

दुर्गा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखाममा रहेको घरमा दुई छोरीसंगै बस्छिन्। एउटा छोरी १२ र एउटा १० मा अध्ययनरत छन्। श्रीमान यज्ञराज भने कान्छी श्रीमतीसंग छुट्टै बस्छन्। दुर्गा भीमदत्त नगरपालिकाले दिएको घर नजिकैको स्वास्थ्य चौकीमा जागिर गर्छिन्।

जागिर पाएपछि समाजले पनि कुरा काट्न थालेको गुनासो दुर्गाको छ। ‘निर्मलाको न्यायका लागि भएको आन्दोलनमा एक युवकले ज्यान गुमाए। केही घाइते भए,’ दुर्गाले भनिन्, ‘छोरी गुमाएर तैले त राहत बुझिस्। हामीले के पायौँ भनेर प्रश्न आउँछ। म जबाफ दिन सक्दिन्।’ सरकारी राहत बुझेपछि धेरैले गलत व्याख्या गरेको अनुभव दुर्गासंग छ। ‘न्याय पर्खिदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले उनीहरुको भविष्यका लागि राहत बुझेकी थिए,’ दुर्गाले भनिन्, ‘तर राहत रकम बुझेको विषयमा अधिकारकर्मी पनि विभाजित भए। मैले अहिलेसम्म पनि कुरा सुन्नु परेको छ।’

प्रहरीको एउटै प्रश्नले हैरान
निर्मला पन्त साथीको घरबाट वेपत्ता भएको आइतबार र मृत फेला परेको सोमबार तीन वर्ष पुग्दैछ। यो अवधिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानबाट थुप्रै टोली अनुसन्धानमा खटिए। थुप्रै पटक निर्मलाकी आमा दुर्गासंग पनि सोधपुछ भयो। तर दुर्गा प्रहरीका प्रश्न सुनेर हैरान छिन्। ‘अनुसन्धानका लागि भनेर जो आउँछन् उनीहरुको प्रश्न एउटै हुन्छ। निर्मलाका कोही केटा साथी त थिएन् ? भनेर प्रश्न गर्छन्। अब १३ वर्षकी निर्मलाको त्यस्तो साथी को होला ? जबाफ दिन पनि दिक्क लागिसक्यो।’ 

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको ढिलोचाँडो टुंगोमा पुग्ने बताउँछन्। ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको सयुक्त डेडिकेटेड टीमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘सार्वजनिक नै गर्न मिल्ने प्रगति भएको छ भनेर अहिले नै भन्न सक्दिन। तर अनुसन्धान जारी छ।’ उनले हरेक कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए।

यो पनि : ‘आफ्नै ठाउँका प्रधानमन्त्री भएछन्, अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा’
 

कमेन्ट लोड गर्नुस