सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महसुलको नाममा हुँदै आएको चर्को असुली समायोजन भएन

२०७८ साउन १०, ०६:४८ कमल सावद

धनगढी : कैलालीमा कोरोना भाइरसको सुरुवाती अवस्थामा महसुलको नाममा भएको चर्को असुली विद्युत प्राधिकरणले समायोजन गर्न अटेरी गरेको छ। प्राधिकरणको धनगढी वितरण केन्द्रले पहिलो चरणको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जारी भएको लकडाउनको समयमा महसुलको नाममा संकलन गरेको तेब्बर बढी रकम समायोजन नगरेको हो। 

२०७६ चैतदेखि नियमित मिटर रिडिङ नगरेको वितरण केन्द्रले अनुमानको भरमा सो समयदेखि नै महसुल र जरिबाना असुल्दै आएको थियो। उपभोक्ताले गुनासो गर्दा अर्को महिना रकम समायोजन हुने आश्वासन दिदै आएको प्राधिकरणले अझै समायोजन नगरेको हो।  

धनगढी उप–महानगरपालिका वडा नम्बर २ का स्थानीय धनबहादुर रोकायाले विद्युत प्राधिकरणले बढी रकम लिएको र पटकपटक आग्रह गर्दा समेत समायोजन नगरिएको बताए। ‘विद्युत प्राधिकरणले अनुमानको भरमा महसुल कामय गर्दै तेब्बर बढी रकम असुल भएको छ। हामीले गुनासो गर्दा प्राधिकरणले अर्को महिना समायोजन गर्ने जबाफ दिने गरेको छ। तर मिटर रिडिङ नगरेको महिनौँ भइसक्दा समेत अहिलेसम्म रकम समायोजन भएको छैन्,’ उनले भने।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का स्थानीय गगन अयडीले बढी लिएको रकम समायोजन नगरिएको बताए। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले निषेधाज्ञाको अवधीमा तेब्बर बढी महसुल मात्रै असुल गरेको छैन् १० देखि २० प्रतिशतसम्म जरिबाना पनि लिएको छ। 

मिटरको रिडिङबीना मनोमानी शुल्क उठाएको प्राधिकरण उपभोक्ताको रकम फिर्ता गर्न वा अर्को महिनाको महसुलमा समायोजन गर्न अटेरी गरिरहेको हो। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले समायोजन गर्दै आएको प्रतिकृया दिए। उनले बढी भएको रकम अर्काे महिना समायोजन गर्दै आएको बताएका हुन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस