सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोकियो ओलम्पिक: जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

२०७८ साउन ९, ११:०८ रासस

काठमाडौँ: जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन्। 

केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार व्यहोर्नुपरेको हो। जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छिन्। 

भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय व्यहोर्नुपरेको हो। उनले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन्। उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन्। भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन्। 

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय व्यहोर्नुपरेको थियो। टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। 
 

कमेन्ट लोड गर्नुस