सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

२०७५ कार्तिक २७, ०१:४५ जनक विष्ट

 
पदीय आचरण विपरीत काम गरेको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ। सोडारीलाई मन्त्री पदबाट हटाउने नेकपा प्रदेश कमिटिको निर्णय पछि मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन्। सोडारी बर्खास्त भएपछि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेकपाबाटै विजयी प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई दिइएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ समेत ग्रहण गराएका छन्। प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितीमा मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन्।

प्रदेश सरकार गठन भएको झण्डै ९ महिनाको अवधीमै सोडारीको मन्त्री पद खोसिएपछि त्यसको कारणको खोजी हुन थालेको छ। तर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने पदीय मर्यादा विपरीत गतिविधी गरेकाले सोडारीलाई मन्त्री पदबाट हटाइएको बताए। सरकार र सोडारीको पार्टी नेकपाले पद अनुरुपको आचरण नगरेकोले मन्त्री पदबाट हटाउनु परेको दावी गरेपनि मन्त्री पदबाट हटाउनका अन्य थुप्रै कारणहरुका विषयमा चर्चा भईरहेको छ।

तर सोडारी भने आफ्नो पद खोसिनुका अनेक कारण रहेको बताएपनि खुलाएनन्। उनले आफू पार्टीको इमानदार कार्यकर्ता भएकै कारण माननीय भएको र अहिले पार्टीले फिर्ता बोलाएपछि मन्त्री पद छोडेको बताए। सोडारी बर्खास्त भएपछि सामाजिक विकास मन्त्रालयमा नियुक्त हुनुभएका कृष्णराज सुवेदीले सहज रुपमा आफ्नो पदीय भूमीका निर्वाह गर्दै चुनौतीहरुलाई सामना गर्ने प्रतिक्रिया दिएका छन्।

पदभार ग्रहणपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्रालयको कार्य सम्पादनमा आउने चुनौतीलाई सहज रुपमा समाना गर्दै समस्या समाधान गर्ने बताए। सुवेदी कैलाली क्षेत्र नम्बर ४ को ख बाट तत्कालीन एमालेबाट निर्वाचीत प्रदेशसभा सदस्य हुन भने सोडारी ४ कै क बाट निर्वाचीत भएका हुन्। नेपाली काँग्रेसबाट राजनीति सुरु गरी कालान्तरमा तत्कालीन एमालेमा प्रवेश गरेका सुवेदी तत्कालीन एमालेका नेता भीम रावल निकट मानिन्छन् भने बर्खास्तमा परेका सोडारी पनि रावल निकटकै नेता हुन । 
 
 

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस