सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहमा टिक्दैनन प्रमुख प्रशासकीय अधिकृत

२०७५ कार्तिक २७, ०७:१० नरेन्द्र कार्की

संघीयतामा देश गएको छ। दुई तिहाईको स्थिर सरकार देशमा बनेको छ। सिंहदरबारको अधिकार गाउँ गाउँ भनिएको छ। तर सिंहदरबारको अधिकार गाउँमा पुर्याएर जनतालाई विकासको अनुभूति दिलाउने कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ।
झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आए, तर जनप्रतिनिधिलाई सघाउने प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी स्थिर भएर बस्न नसक्दा सरकारको अनुभूति जनताले गर्न सकेका छैनन्।
स्थानीय सरकार आएको डेढ बर्ष बितेपनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति लिन सकेको छैन्। स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत पाउँनै मुस्किल हुने, सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा दुर्गमका गाउँपालिकाहरु अहिलेपनि प्रशासकीय अधिकृत विहिन बनेका छन्।
दार्चुलामा यस अवधिमा झण्डै दुई दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन्। सामान्यतया कर्मचारी एक देखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो। झन स्थानीय सरकारलाई मजबुद र सञ्चालनको लागि कर्मचारीको सहयोग हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको सरुवा चाडो चाडो हूँदा जनताले सेवा अनुभूति गर्न नसकेको स्थानीय बताउँछन्।
योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी  भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै छन्। जनप्रतिनिधिले केहि गर्न सकिरहेका छैनन्। अधिकार कर्मचारी तन्त्रमा छ।
दुर्गममा गएर काम गर्न नचाहने कर्मचारीको प्रबृतिले विकासमा अबरोध भइरहेको जनप्रतिनिधिहरुको गुनासो छ। दार्चुला जिल्लाका नौ वटा  स्थानीय तहमा करिब डेढ बर्षको अवधिमा मात्रै दुई दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरीएका छन् भने सचिवहरु पनि सरुवा भइरहेका छन्।
फेरीएका कतिपय प्रशासकीय अधिकृत कर्मचारीहरु सम्बन्धीत गाउँपालिका र नगरपालिकामा नपुगेरै बाटोबाटै सरुवा भएर हिडेका छन्। कतिपय स्थानीय तहमा हाजिर भएको एक दुई महिनामै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका छन्। कर्मचारी दुर्गम क्षेत्रमा नपुग्दा दैनिक कामकाजमा समेत समस्या भएको ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो।
जिल्लाको ब्याँस गाउँपालिकामा अहिलेसम्म चार ओटा प्रमुख प्रशासकीय अधिकृत फेरीएका छन्। अहिले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन छ। विगतमा सरुवा भएका दुई जनाप्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा केहि समय काम गरेर सरुवा भएपनि दुई जना अधिकृत गाउँपालिकामा नपुगेरै बाटोबाटै सरुवा भएका छन्।
गत बर्ष गोबिन्द केसी प्रशासकीय अधिकृतको रुपमा दार्चुला आएर झन्डै छ महिनामै सरुवा भए। गत असार महिनामा दिलिपसिह  धामी प्रमुख प्रशासकीय अधिकृतको रुपमा ब्यास गाउँपालिकामा हाजिर भएको दुई महिनामै सरुवा भए।
केहि दिन अघि व्यास गाउँपालिकाको लागि राम प्रसाद ओलीलाई व्यास गाउँपालिकाको  प्रमुख प्रशासकीय अधिकृत खटाएकोमा जिल्ला नपुगि सरुवा भएको खबर आएको अध्यक्ष बुढाथोकीले बताए। कर्मचारी नआउँदा बार्षिक योजना तथा कार्यक्रम सञ्चालन गर्ने समस्या भएको छ।
दुहँु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरसिह महरा निलम्बनमा परेपछि दुहुँ समेत प्रशासकीय अधिकृत बिहिन बनेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए। यातायात व्यवस्था विभागको काम कारबाहीका क्रममा दुहूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर महरा सहित २२÷२३ जना कर्मचारी विरुद्ध अख्तियारमा मुद्दा परेको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि दुहूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर महरा निलम्बनमा परेको अध्यक्ष कार्कीले बताए। प्रमुख प्रशासकीय अधिकृत कहिले आउने र को आउने भन्ने टुगों लागि नसकेको अवस्थामा योजनाहरुको कार्यान्वयन प्रकृयामा समस्या भएको अध्यक्ष कार्कीको भनाई छ।
सडक सञ्जालले नजोडिएको लेकम गाउँपालिकामा एक वर्षको अवधिमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरीएका छन्। कर्मचारी आए गएको थाहाँ हुँदैन्, गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले भन्ने, कर्मचारीहरु दुर्गममा बस्नै नचाहने प्रबृति र राजनीतिक प्रतिशोधको भावनाका कारण कर्मचारीको दुई तीन महिनामै सरुवा भएर जाने गरेका छन्।
लेकम गाउँपालिकामा स्थानीय तह निर्बाचनपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा साविकका लालीका सचिव नारायणदत्त भट्ट रहे। २÷३ महिना कार्यकाल चलाएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिपक नेपाली चैतमा हाजिर भएका थिए। उनको मंसिर महिनामा सरुवा भएपछि पुन निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुन भट्ट दोहोरिएका थिए।
लेकम गाउँपालिकामा पुन जेठ ६ गते भोज बहादुर ऐरी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेकम गाउँपालिका पुगेका थिए। गृह मन्त्रालयबाट सरुवा भएर लेकम आएका ऐडीको समेत दुइ महिनामै सरुवा भएपछि लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको रुपमा धर्मराज उपाध्याय आएका छन्। अहिले उनले चौमासिकबाट काम थालेका छन्। 
शैल्यशिखर नगरपालिकामा अहिलेसम्म चार जना प्रशासकीय अधिकृत आएका छन्। शुरुमा हेमराज अर्याल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएकोमा उनको सरुवा भएसंगै सुरेन्द्र बिष्टले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए। बिष्टको मालिकार्जुन सरुवा भएपछि हरी जोशीलाई सरकारले निमित्त प्रशासकीय अधिकृतको रुपमा खटाएपनि नगरपालिकाले हाजिर समेत लगाउन दिएन्। आएका कर्मचारी राजनीतिक कारण हाजिर लगाउन नदिएको भन्दै लामो समय विवाद भयो।
कर्मचारी हाजिर लगाउन नपाएपनि पुन. बिष्टलाई नै नगरपालिकामा निमित्तको जिम्मेवारी सहित भित्त्रयाइयो। अहिले शैल्यसिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण शाह आएका छन्।
जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका सुशिल पनेरुको सरुवा भएपछि निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा खेमराज देबकोटा आएका छन्। गत आर्थिक वर्षसम्म काम गरेका देवकोटा निमित्त मात्रै थिए। गत महिना लोकबहादुर भण्डारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन्। महाकाली नरपालिकामा पनि डेढ वर्षको अवधिमा तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । मालिकार्जुन गाउँपालिकामा शुरुमा प्रमुख प्रशासकीय अधिकृत सन्तोष प्रसाद भट्टको गत जेठ महिनामा सरुवा भएसंगै असारदेखी हरिसिह साउँद प्रशासकिय अधिकृतको जिम्मेवारीमा आएका छन्।
जिल्लाको सबैभन्दा विकट गाउँपालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकामा सरकारले दुई जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपनि गाउँपालिकामा आएर एक जनाले समेत काम गरेका छैनन्। अपिहिमाल सरुवा भएका अधिकृतहरुले जिल्ला बाहिरको स्थानिय तहमा सरुवा मिलाएर काम गरीरहेको तर गाउँपालिकामा शुरुदेखी नै प्रमुख प्रशासकिय अधिकृतबिहिन रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। 
अहिले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा गत बर्षदेखी जयसिह धामीले काम गरेपनि शारीरिक अस्वास्थ्यताका कारण गाउँपालिकामा कमैमात्र उपस्थित हुने गरेका छन्। उनले सदरमुकाम खलंगामै सम्पर्क कार्यालय खोलेर काम गर्ने गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ। कर्मचारीले स्थानीय सरकार चलाउनुपर्ने ठाउँमा कर्मचारी नहुँदा योजना कार्यान्वयनमा जहिल्यै ढिलो हुने गरेको अध्यक्ष मन्यालको भनाई छ।
जिल्लाको व्यास, अपिहमिाल र लेकम गाउँपालिकामा सडक, बिद्युत, सञ्चार लगायतका आधारभुत पुर्बाधारको पहँुच समेत नपुगेको कारण कर्मचारी जान नमान्ने र गएकाहरु समेत छिट्टै सरुवा मिलाउँने गरेको पाइएको छ।
जिल्लाको मार्मा र नौगाड गाउँपालिकामा भने शुरुदेसख नै एउटै प्रमुख प्रशसकीय अधिकृतले काम गरीरहेका छन्। नौगाड गाउँपालिकामा मोहनसिह धामी र मार्मा गाउँपालिकामा तारानाथ पनेरु एक बर्ष बढी समयदेखी प्रमुख प्रशासकीय अधिकृतको काम गरीरहेको हुन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस