सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोकियो ओलम्पिकको उद्घाटन आज

२०७८ साउन ८, ११:४४ रासस

काठमाडौँ: विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ। 

जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ। उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै सुरु भइसकेको छ। ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन्। 

नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ। उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन्। सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो। दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ। 

सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने 

नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्ने भएकी छिन्। परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनले एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन्। परियारको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ। 

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्। सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएका हुन्। 

पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गरेकी थिइन्। उनले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। 

यसैगरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछिन्। टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ।   
 

कमेन्ट लोड गर्नुस