सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोषणाको २५ वर्षसम्म पनि दैजीछेला औद्योगिक क्षेत्रको काम अगाडि बढेन

२०७८ साउन ८, ०७:०७ विन्दु चन्द

धनगढी: ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हो। अब सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम मात्रै नभएर विकसित सुदूरपश्चिम हुनेछ,’ १० फागुन ०७७ मा कञ्चनपुरमा दैजिछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए।

घोषणाको २५ वर्षपछि गरिएको शिलान्यासको पनि पाँच महिना पुगेको छ। तर दैजिछेलामा औद्योगिक क्षेत्र स्थापनाको कार्य भने अझै सुरु भएको छैन। कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ र ३ मा स्थापना हुने भनिएको औद्योगिक क्षेत्रको भौतिक संरचना निर्माणको काम सुरु नभएको हो। विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मुल्याँकनको चेकजाँचको कामसमेत पूरा नभएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द बताउँछन्।

उनले भने, ‘चेकजाँचको काम शिलान्यास गर्नुभन्दा पहिला नै गर्नु पर्ने हो तर त्यो अझै पूरा हुन सकेको छैन। इआइए र डीपीआरको रिपोर्ट अनुसारको भेरीफाई गर्नुपर्छ। त्यो काम बाँकी छ।’ यता डिभिजन वन कार्यालयले रुख छपानको काम अगाडि बढाएको जनाएको छ। रुख कटानीको जिम्मा पाएको डिभिजन वन कार्यालयले अहिलेसम्म ४० प्रतिशत छपानको काम गरेको जनाएको छ।

औधोगिक क्षेत्रमा अहिलेसम्म ४ हजार ९ सय रुख छपान भएको डिभिजन वन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी शिवराज अवस्थीले बताए। उनले भने, ‘कोरोना माहामारीका कारण गरिएको निषेधाज्ञा र असारमा भएको वर्षाका कारण काम स्थगित गरिएको छ। अहिले भने छपानको काम भइरहेको छ।’

नौँ सय विघा जमिनमा रहेको उक्त क्षेत्रको ३ सय ८८ विघाको विस्तृत योजना प्रतिवेदन तयार पारिएको छ। उक्त क्षेत्रमा एक सय २२ भन्दा बढी उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। सो क्षेत्रमा रुख रहेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नन्द किशोर बस्नेतले बताए। उनले सो क्षेत्रमा रहेका रुख गणना गर्ने, छपान र कटानको जिम्मा डिभिजन वन कार्यालयलाई दिएको बाताए।

‘वनबाट रुख गणना गर्ने र हटाउने काम सकिएपछि निर्माण प्रक्रियामा जान्छौ,’ उनले भने। घोषणापछि शिलान्साका लागि सरकारले २५ वर्ष कुरेको थियो। त्यो अवधिमा नेताहरुले दैजीछेलालाई चुनाव जित्ने एजेण्डा मात्रै बनाए। अब शिलान्यासपछि पनि सोही हविगत हुने चिन्ता स्थानीयमा छ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा दैजीछेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला बजेट विनियोजन गरिए पनि निकुञ्जको क्षेत्र पर्ने भन्दै काम सुरू भएको थिएन।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस