सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मिटर रिडिङ नगरी तेब्बर बढी महसुल असुली

२०७८ साउन ७, ०६:५८ कमल सावद

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा बस्दै आएका पत्रकार अविनाश चौधरी विद्युत महसुलको रकम देखेर हैरान छन्।

असार महिनाको विद्युत महसुल एक हजार ५ सय २१ रुपैयाँ देखेपछि उनी हैरान भएका हुन्। ‘एक महिनामा बढीमा तीन सय विद्युत महसुल तिर्दै आएको थिए,’ चौधरीले भने, ‘अहिले एक हजार पाँच सय २१ रुपैयाँ महसुल देखिएपछि सोधीखोजी गरे। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले साउन महिनाको विद्युत महसुलसमेत जोडेको रहेछ।’

साउनको पहिलो साता नसकिदै प्राधिकरणले अनुमानको भरमा महिनाभरको महसुल निर्धारण गरेको हो। कैलालीको टीकापुरका दुर्गा भण्डारीलाई पनि विद्युत महसुलले हैरान बनाएको छ। असार पहिलो साता जेठ महिनाको विद्युत महसुल तिरेका उनलाई पुनःदुई महिनाको विद्युत महसुल तिर्न प्राधिकरणले भनेको छ। उनले दुई महिनाको महसुल तिर्दा जरिमानासमेत तिर्नुपर्ने देखिएको छ। प्राधिकरणको लापरबाहीका कारण बढी महसुल तिर्नु पर्ने देखिएको बताउँदै उनले भने, ‘दुई महिनाको अनुमानको भरमा महसुल निर्धारण गरिएको छ।’

सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्रहरुले मनपरी ढंगले महसुल असुल गर्न थालेका हुन्। चैत महिनादेखि मिटर रिडिङ गर्न नगएका केन्द्रले अनुमानको भरमा तेब्बर बढी महसुल र जरिवाना शुल्क असुल गरेको उपभोक्ताको गुनासो छ।

यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले निषेधाज्ञाका कारण ग्राहको घरमा जान नसकिएको बताए। ‘असार १५ गतेसम्मका लागि हामीले औसतमा बिल बनाएका छौ। कोरोना संक्रमणको त्रासले हामीले मिटर रिडिङ नगरेका हौँ। अघिल्लो वर्ष तथा महिनाको आधारमा हामीले रिडिङ गरेका छौ,’ उनले भने।

प्राधिकरणले पछिल्लो महिनामा रकम समायोजन गर्ने बताउँदै आएको छ तर समायोजन भएको छैन्। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदिश जोशीले बढी लिएको रकम अर्काे महिनामा समायोजना गर्न सकिने बताए। ‘बढी आएको भए हामी समायोजन गर्छौ। एक/दुई सय रुपैयाको तलमाथि हुनसक्छ,’ उनले भने।

निषेधाज्ञा नभएको समयमा पनि वितरण केन्द्रले अनुमानको भरमा महसुल असुल गरेका गरेका थिए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस