सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलियन फुटबलर मार्टाले बनाइन् ओलम्पिकमा कीर्तिमान

२०७८ साउन ६, ०७:०३ खबर संवाददाता

काठमाडौं: ब्राजिलियन फुटबलर मार्टाले ओलम्पिक फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन्। टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै उनले कीर्तिमान बनाइन्। मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी हुन्।

समूह एफ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी हुँदा मार्टाले दुई गोल गरिन्। योसँगै उनले ओलम्पिकमा गरेको गोल संख्या १२ पुगेको छ। मार्टाले सन् २००४ देखि २०२० को ओलम्पिकसम्म गोल गरेकी हुन्।

ओलम्पिकमा सर्वाधिक गोल गर्नेमा उनी आफ्नै देशकी क्रिस्टियनभन्दा दुई गोलले पछि छिन् । क्रिस्टियनले २००४ देखि २००६ सम्म खेल्दा १४ गोल गरेकी छन्।

३५ वर्षीया मार्टाले सन् २००२ मा ब्राजिलका लागि डेब्यु गरेकी थिइन् । चीन विरुद्धको खेलपछि उनले ब्राजिलका लागि १६०औं खेल खेल्दै १११ गोल गरिसकेकी छन्। उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्।

यस्तै ब्राजिलियन मिडफिल्डर फोर्मिगा सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी छिन्। उनले सन् १९९६ देखि लगातार ओलम्पिक खेल्दै आएकी छन् । फोर्मिगाले लगातार सातौं पटक ओलम्पिक खेलिरहेकी छन्।

कमेन्ट लोड गर्नुस