सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ठूला आयोजनाको विकास खर्च निराशाजनक

२०७८ साउन ६, ०९:५४ कमल सावद

धनगढी : गत आर्थिक वर्षमा कैलालीका ठूला विकास आयोजनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ। विगतका वर्षभन्दा पनि गत आर्थिक वर्षमा न्यून विकास बजेट खर्च भएको हो।

धनगढी लगायत ४ स्थानीय तहमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजनाको विकास बजेट सबैभन्दा कम खर्च भएकोे छ। गत आर्थिक वर्षमा २ अर्ब ३५ करोड ४६ लाख पुँजीगत बजेट रहेकोमा २१ प्रतिशत मात्र खर्च भएको छ। ४९ करोड १२ लाख मात्र गत आर्थिक वर्ष २०७७/०७८ मा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाका कारण न्यून काम भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी झंक थापाले बताए। उनले उक्त कायोजनाको सबै रकम एकै पटक भुक्तानी हुने भएकाले समेत विकास बजेट कम खर्च देखिएको बताए। उनले भने, ‘२५/२६ प्रतिशत खर्चको लक्ष्य राखेका थियौ। तर भएन। कोरोना भाइरस संक्रमणको त्रासले पनि काम कम भएको हो।’

डोटीको सम्बृद्धिसँग जोडिएको सहजपुर–बोगटान सडकको विकास बजेटसमेत न्यून खर्च भएको छ। एक अर्ब ११ करोड बजेट विनियोजन गरिएको उक्त सडक योजनाको ५५ करोड ७१ लाख अर्थात ५० प्रतिशत मात्र खर्च भएको हो। सहजपुर–बोगटान सडकमा पर्ने रुख कटानीको आदेश नभएकाले विकास बजेटसमेत न्यून खर्च भएको योजना प्रमुख उज्वल श्रेष्ठले बताए। उनले भने, ‘रुख कटानीको आदेश भएन्। रुख कटानीको आदेश नभएकाले काम नभएको हो।’

रानी जमरा कुलरीया सिचाई आयोजनाको समेत ५५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ। आयोजना अन्तरगत दुई अर्ब २२ करोड बजेट विनियोजन गरिएकोमा एक अर्ब २२ करोड खर्च भएको हो। सोही आयोजनाको कृषि तर्फ भने ६४ प्रतिशत खर्च भएको छ। आयोजनाको कृषि तर्फका प्रमुख भरत कँडेलले पुँजीगत बजेट न्यून मात्र रहेको बताए।

चालू तर्फबाट कार्यक्रम कार्यान्वयन गरिएको उनको दाबी छ। जिल्लाका १० ठूला विकास कार्यालयहरुको ५७ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ। जिल्लाको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ६२ प्रतिशत, राष्ट्रपति चुरे तपाई मधेश संरक्षण विकास समितिको ९१ प्रतिशत, मोहनापुल–अत्तरिया ६ लेन सडकको ९० प्रतिशत, हुलाकी सडक योजना कार्यालयको ९९ प्रतिशत र संघीय आयोजना कार्यान्वयन इकाइको ९१ प्रतिशत खर्च भएको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस