‘रातकी रानी’बारे पूर्व मन्त्रीको अनुभव
धनगढीः पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरसँग ‘ड्रागन फ्रुट’को बारेमा दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
ड्रागन फ्रुट खेती कहिलेदेखि गर्दै आउनु भएको छ ? कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
म २०७५ सालदेखि ड्रागन फ्रुट खेती गरिरहेको छु। यो क्षेत्रमा प्रवेशको कुरा गर्दा केही नयाँ गरौं भन्ने मनमा थियो त्यहीँबाट उत्प्रेरित भएर गरेको हँु। अहिले ३ बिघा ६ कट्ठा जतिमा यसको खेती गरिरहेको छु।
ड्रागन फ्रुट भनेको हो चाहिँ के हो ?
ड्रागन फ्रुट भनेको चाहिँ सिउँडी प्रजातिको फल हो। जसलाई नेपालमा पिताया भनिन्छ। यो ‘रातकी रानी’को नामले पनि चिनिन्छ। यो महत्वपूर्ण फल संसारका हरेक देशमा खोजीखोजी खाने गरिन्छ। स्वास्थको लागि लाभदायक भएर होला धेरै महत्वका साथ ड्रागन फ्रुटको उपभोग गरिन्छ। पैसा हुनेले किनेर खान्छन्, पौरख हुनेले गरेर खान्छन्।
ड्रागन फ्रुटको उत्पादन समय के कस्तो हुन्छ ?
अहिले हामी दोस्रो वर्षमा छाै। ड्रागन फ्रुटको फल्ने प्रकृतिको कुरा गर्दा वर्षको एक सिजन हुन्छ। असारदेखि असोज सम्मको समयावधि। जसमा ७/८ लट फल्छ। अहिले हामी दोस्रो लटमा छौं।
बोट लगाएको कति समयपछि फल दिन सुरु हुन्छ ?
यसको फूल रातमा फूल्ने हुनाले यसलाई रातकी रानी पनि भनिएको हो। यो कोपिला दिएको लगभग २५ मा फुल्छ। फूलको आयु चाहिँ १२ घन्टा मात्रै हुन्छ। फूल फुलेको ३०/३५ दिनमा पाकेर खान मिल्ने हुन्छ।
बिरुवा बनाउन कस्तो तरिका हुन्छ ?
यसको बिरुवा बनाउने ३ तरिका छन्। एउटा तरिका चाहिँ फलभित्र नै तिलको जस्तो बियाँ हुन्छ त्यसबाट उमार्ने। यसमा चाहिँ समय बढी लाग्ने र ढिलो समयसम्म बोट फल्ने हुन्छ। अर्को तरिका भनेको तन्तुप्रसारण विधिबाट पनि गर्न सकिन्छ। तेस्रो सबैलाई सहज हुने तरिका भनेको चाहिँ मदर प्लान्टबाट छुट्टिएको, फलेको हाँगा काटेर बिरुवा बनाउनु हो।
ड्रागन फ्रुटको बारेमा कसरी जानकारी लिनुभयो ?
ड्रागन फ्रुटको उत्पत्ति स्थल दक्षिण अमिरिकी मुलुक मेक्सिको हो। मेक्सिकोले विश्वलाई मकै, एभोकाडो लगायत थुप्रै कुरो दिएको छ। ड्रागन फ्रुट मेक्सिकोबाट भियतनाम कम्बोडियातिर आयो। त्यहाँबाट थाइल्यान्ड मलेसियातिर आयो र त्यहाँबाट चिन भारत हुँदै नेपालतिर आयो।
नेपालमा यो भित्रीएको झन्डै २० वर्ष पुग्यो। २० वर्ष पहिले डा. जगन्नाथ राईले भियतनामबाट आफ्नो अमेरिकी साथीमार्फत ६ इन्चको एउटा टुक्रा मगाएर नेपालमा ड्रागन फ्रुट भित्र्याएका थिए।
म आफूले पनि १७ वर्ष पहिले डा. राईबाट यो कुरा थाहा पाएको हुँ। चीन भ्रमण गर्दा यो चाखेको पनि थिए। यसरी यसको विभिन्न बहुगुणरुपी महत्वबारे थाहा पाएपछि जीवनको कुनै कालखण्डमा यसको खेती गर्ने इच्छा ममा जागेको थियो।
मैले राजनीतिलाई सेवाको रुपमा लिएको थिए पेशाको रुपमा होइन। राजनीतिबाट स्वैच्छिक अवकाश लिएपछि नेपाली युवाहरूलाई कालो चामल, ड्रागन फ्रुटलाई फैलाउनुपर्छ भनेर लागेको हुँ। जब जनता शारीरिक रुपमा र मानसिक रुपमा बलियो हुन्छन् तब देशको आर्थिक देखि राजनीतिक पक्ष बलियो हुन्छन् भन्ने मान्यता म राख्छु।
एभोकाडो र ब्ल्याक राइस् पनि लगाएका छु। यो मेरो जीविकोपार्जन पनि हो। मेरो पुर्खाले पनि काम गरेरै खानुभएको हो मैले पनि काम गरेरै खानुपर्छ। आवश्यकताले ४० वर्ष जति राजनीती गरियो। जीवन पर्यन्त राजनीति नै गर्नुपर्छ भन्ने होइन त्यसैले मैले जानेका, पढेका र बुझेका अनुभव गरेका कुरा नेपाली जनता, युवा, किसानहरुलाई बाढ्ने हिसाबले मैले यो काम थालेको हुँ।
भियतनामले ड्रागन फ्रुटलाई आफ्नो देशमा गरिबी निवारणको लागि एक नम्बर आयको रुपमा लियो। अमेरिकासँग २५ वर्षे युद्धमा कमजोर भएको भियतनाम छोटो समयमै रानी भएर आयो। राजनीतिक हिसाबले, आर्थिक हिसाबले र समृद्धि अनि विकासको हिसाबले धेरै अगाडि आयो। हाम्रो सरकारले पनि यो तरिकाले यसलाई लियो भने त हो। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पा भिण्ड हो। समयमै चिनौँ भन्ने मेरो आग्रह हो।