बालिकाकाे पहरेदारमा प्रहरी
महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्री साँझ पख भान्छामा पसिन्। चिया पकाउने सुरसार गर्दै थिइन्। बेलुकीको साढे छ बजेको थियो। बत्तिहरु बाल्न थालेका थिए। बालिकाले चिया पकाउन भाडामा पानी हालिन्। ७५ वर्षीया धरणी विष्ट (आमा) दुध दुहिन गोठमा पसिन्। यो घट्ना कात्तिक २१ गते औसीको दिनको हो। चिया पकाउन पसेकी नातनी खत्री भान्छाबाटै अपहरण शैलीमा हराइन्। गोठमा छिरेका आमा चिच्याइन। तर नातनी भेटिएनन्। टोलभरी हल्ला भयो।
नजिकै प्रहरीमा खबर भयो। प्रहरी तत्काल घरमा आइ पुग्यो। जिल्लाबाट प्रहरी नायव उपरीक्षक नवराज अधिकारी स्वयं घट्नास्थल पुगे। स्थानीयको सहयोग मागे। राति भइसकेको थियो। अपहरण शैलीमा हराएका बालिका खत्री घर नजिकै बेहोस अवस्थामा भेटिइन्। स्थानीयले पूरै खोजी गरे बालिका कहि भेट्टाएका थिएनन्, स्थानीय नरेन्द्रराज विष्टले भने, प्रहरी आएपछि थप खोजतलास गर्न सहज भयो।
नेपाल प्रहरीले अहिले थालेको समुदाय प्रहरी साझेदारी कार्यक्रम पछि प्रहरीले छिट्टै काम गर्न थालेको महशुस भएको छ, स्थानीय व्यापारीसमेत रहेका विष्टले भने। अहिलेको कार्यक्रमले गर्दा पनि स्थानीयमा घट्ना हुने वित्तिकै प्रहरीलाई खबर गर्नुपर्छ भन्ने चेतना आएकै कारण बालिकाको खोजी गर्न सहज भयो।
बालिका बोल्ने अवस्था थिएन, एकातिर चप्पल अर्कोतिर मोवाइल फालिएको थियो। स्थानीयको सहयोगमा बालिकालाई जिल्ला अस्पतालमा ल्याएर उपचार भयो। अहिले बालिका बोल्न सक्छन्, आमा धरणी विष्टले भनिन्। प्रहरी नआएको भए बालिका बिहानसम्म मृत भेटिने थिइन्। तत्काल प्रहरीले जिम्मेवारी बहन गरेपछि मेरी नातनी जिवितै उद्धार गर्न सक्यौ।
बालिका खत्रीका अनुसार आफु चिया पकाउन गएको बेला एक जना अपरचित मानिसभित्र आएर सिधै कपडाले पुरै टाउँकोसहित मुख बन्द गरेको थियो। दुई जना ढोकामा उभिएका थिए। को हुन् भनेर चिन्न सकेन्। कालो पोसाक थिया । चिच्चाउन सकिन्।
प्रहरीले बालिका अपहरण गर्न खोजेको हुन सक्ने अनुमान गरेको छ, डिएसपी नवराज अधिकारीले भने। बालिका बेहोस् भएपछि अपहरणकारीले छोडेको हुन सक्ने प्रहरीको अनुमान छ। तत्काल नजिकै प्रहरीमा खबर आएपछि बालिका जोगाउन सकिएको हो, उनले भने। समुदाय प्रहरी साझेदारीको नमूनाको रुपमा यो घट्ना सफल भएको प्रहरीको दावि छ।
घरमा दुई जना मात्रै बस्छन्। अहिले बालिकाले असुरक्षित नहोस् भन्नको लागि प्रहरीको पहरेदारी राखेका छौ, उनले भने। प्रहरीले पटक–पटक बालिकाले तनाव नलिउन् भन्नको लागि सोधपुछ गर्ने गरेको छ। बालिका बलात्कार भएका छैनन्।
पाँच छ महिना अघि दार्चुला सदरमुकाम खलंगामासमेत यस्तै घट्ना घटेको थियो। त्यो बेला बालक आफै अपहरणकारीबाट छुटेका थिए। पछिल्लो समय जिल्लामा बालबालिका अपहरण शैलीमा हराउने घट्ना देखिन थालेका छन्, डिएसपी अधिकारीले भन्छन्, यसको लागि अभिभावक सचेत हुनुपर्छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म दार्चुलामा २१ जना बालबालिका हराएकोमा १५ जना फेला परेका छन्। छ जना अझै फेला परेका छैनन्। प्रहरी समयमै नपुगेको भए बालिकाको ज्यान गएको हुन्थ्यो। डिएसपी अधिकारी थप्छन्, अहिलेको समुदाय प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरीका स्थानीय तह र वडातह वस्तीस्तरसम्म पुर्याउन कार्यक्रम सञ्चालन भइरहेका छन्। यसले गर्दा प्रहरी र समुदायको सम्बन्ध हुन्छ। सूचना आदान प्रदान गर्ने प्रवृत्ति बढ्छ ।
बालिकालाई सहयोग हस्तान्तरण
इन्सेक दार्चुलाले महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेको छ। बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्र बसेका बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। तिनै असहाय बालिका गत कात्तिक २१ गते अपहरणमा परेकी थिइन्।
मालिकार्जुन मावि धापमा कक्षा ६ मा अध्ययनरत खत्रीका बुवा गजी खत्रीको ११ वर्षअघि गाडी दुर्घटनामा मृत्युभएको थियो। भने आमा देवकी खत्री मानसिक रुपमा अस्वस्थ छन्। बुवाको मृत्युपछि वेसहारा बनेका खत्रीलाई अहिले ७५ वर्षीया धरणी विष्टले धर्मपुत्रिको रुपमा पालनपोषण गर्दै आएका छन्।
आमा मानसिक रुपमा ठिक छैनन्। बुवाको मृत्यु भयो, तीन छोराछोरी सडकमै वेसहारा भएपछि दुई छोरी मैले घरमा राखेर पालन गरेको छु, विष्टले भनिन्। जेठी छोरी आनन्दी खत्रीको विवाह गराइदिए । कान्छी छोरीलाई विद्यालय लगाएको छु।
खत्रीका जेठा दाई जयराज खत्रीलाई धापका पूर्व शिक्षक जयराज विष्टले घरमा पालन पोषण गरेका छन् खत्री पनि मानसिक असन्तुलनमा छन्। तीन भाई बहिनी बेसहारा भएपछि पालेका छौ उनले भनिन्। प्रहरीले बल्ल बल्ल बचाइ दिएको छ, नातनीलाई।
इन्सेक दार्चुलाले जिल्लामा असहायक अनाथ गरिब बालबालिकालाई हरेक वर्षमा दुई पटक सहयोग गर्दै आइरहेको छ। बालबालिकाको थोरै भएपनि सहयोग पुगोस् भन्नको लागि सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि कार्कीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नवराज अधिकारी पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिह धामी लगायत जिल्लास्थित सञ्चारकर्मीको उपस्थिती रहेको थियो।