सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिममा पनि प्याड पाउँछ र ?’ भन्दै खिल्ली उडाइन्थ्यो: कमेडियन शर्मा

२०७८ साउन ४, १२:५० खबर संवाददाता

धनगढी: धनगढीमा बस्दै आएका लेखक तथा हास्यकलाकार दर्पण शर्मासँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।  

कमेडी च्याम्पियनको यात्रा कस्तो रह्यो ?
यात्रा एकदमै राम्रो भयो। म अनुभव बटुल्न रुचाउने मान्छे। कमेडी गर्छु जस्तो त आफैलाई पनि लाग्दैन थियो। तर व्यङ्ग्यात्मक कुरा भने लेखिरहेको हुन्थे। लकडाउनको बेला अडिसन खुल्यो। दिऊ न त भनेर दिएको ६ हजारबाट १८० मा छनोट भए। १८० मा पनि फिजिकल राउन्ड भयो त्यसपछि २५ मा छनोट भए। २५ बाट पनि १५ मा छनोट भए। १५ बाट १० मा पुगियो र १० बाट बाहिर आइयो। जुन होस्टेलमा बसियो त्यहाँका साथीहरू अनि उनीहरुको हसाउने र कुरा गर्ने तरिका सबै मज्जाको थियो। एकदम सम्झिरहेको छु।

कमेडी च्याम्पियनको छनोट प्रक्रिया के रहेछ ? 
कमेडी च्याम्पियन सिजन एक नै हास्यव्यङ्ग्य क्षेत्रमा राम्रो रियालिटी सो भनेर आइसकेको थियो। दोस्रो सिजनको लागि अनलाइन अडिसन थियो। सायद कोरोना भएर होला। हुन त पहिलो सिजन पनि अनलाइन नै थियो। अनलाइनबाट भिडियो पठाइसकेपछि छनोट भएका १८० जनालाई काठमाडौं बोलाउनुहुन्छ र अनि फिजिकल अडिसन दिनुपर्छ। बाँकी मैले मेरो यात्रामा भनिसकेको छु। लेख्नका लागि निश्चित एउटा विषय दिइन्छ र लेख्नुपर्छ। कतिपय कपि हुने घटना भइरहन्छन्। यस्तो न गरिकन एकदम फरक र विशेष प्रस्तुति दिनुपर्ने हुन्छ। ट्यागलाईन, पन्चलाईन, ब्युल्डअप के–के हुँदो रहेछ मैले त्यही गएर सिके। बिना कुनै ज्ञान नै प्रवेश गरेको मैले त्यहीँ गएर नयाँनयाँ कुरा सिके। गर्दै गएपछि सिकिन्छ।

प्रेमको विषयमा दर्पणको बुझाई के हो ?
प्रेमको विषयमा लेख्न सजिलो लाग्छ बोल्न भन्दा। तर पनि हामीलाई घर परिवारको प्रेम त मिलेको नै हुन्छ। तापनि धेरै यस्ता कुरा हामीभित्र छन् जुनकुरा परिवारसँग भन्न सक्दैनौं। यसको लागि फ्रेन्ड्लिी वातावरण बनाउनुपर्यो। मेरो आफ्नो चाहिँ वातावरण एकदम फ्रेन्डिली छ। जुन कुरा मलाई परिवारसँग चाहिएको हुन्छ त्यो मज्जाले भन्छु।

यो कुरा गर्न नसक्ने व्यक्तिका लागि साथीको खाँचो हो। फेरि साथीसँग पनि भन्न सकिँदैन भने प्रेम गर्नु हो भन्ने लाग्छ। मेरो सवालमा त म अहिले अपरिपक्व छु। आफ्नै जीवनको ठेगान छैन। अरुलाई पनि साथमा ल्याएर हिड्न सक्छु जस्तो लाग्दैन। त्यसैले आफ्नो लक्ष्यमा पुगेर परिपक्व भएपछि सम्बन्धमा बस्ने भन्ने हो।

हाम्रो समाजको सबैभन्दा राम्रो पाटो के लाग्छ ?
म काठमाडौं पुगेपछि कस्तो भयो भन्दा हामीलाई कमेडी च्याम्पियनमा कहाँबाट हो भनेर सोधियो। सुदूरपश्चिमबाट भनेपछि रियाक्सन नै अर्कै भेटियो के। कताको मान्छे भनेर सोधेपछि सुदूरपश्चिमको भन्दा ‘तँ यहाँ आइस्’ टाइपको के। हामीभित्रै पनि रोष्ट्र भन्ने कुरा त सामान्य हो।

तर हाम्रो रोष्टचाहिँ व्यक्तित्वमा हुन्थे भने उहाँहरुको रोष्ट चाहिँ भौगोलिक स्थितीमा प्रहार हुन्थे के। जस्तैः हाम्रोतिर हस्पिटल छ भन्यो भने ‘तिमीहरुकोतिर प्याड पाउँछ र’ भन्ने जस्तो कुरा गर्ने के। प्याडै न पाउने भन्ने त होइन नि। हामी पनि विकसित हुँदैछाै‌। एक हदसम्म विकसित छन् भन्ने छाप उनीहरुमा परिसकेको छैन । 

समाजको सकारात्मक पाटो भनेको समाजिक अभियानताले हामी पिछडिएको मात्रै छैनौं। हामी पनि केही तपाईंहरुको लागि गर्न सक्छौं भन्ने किसिमको भाव लिएर काम गरिरहनु भएको छ। सबैले गर्नुपर्ने भन्दा बढी गरिरहनु भएको छ जस्तो लाग्छ। फेरि पहिला यस्तो थिएन। पछिल्लो समयमा यसमा सुधार आएको छ। यो चाहिँ हाम्रो समाजको सकारात्मक  पाटो हो जस्तो लाग्छ।

नेपालको राजनीतिक प्रणाली कस्तो लाग्छ ?
फोहोर उठाउने ट्याक्टर कन्फ्युजमा हुन्छ, फोहर उठाऊ कि नगरपालिका भनेर।  नगरपालिका आफैमा फोहोर छन्। हामीले गाली गर्ने भनेकै नगरपालिकालाई हो। हाम्रो कुरा कसैले सुनिदिनेवाला छैन। हाम्रो कुरा पुग्दा पनि पुग्दैन। राजनीतिक अवस्था चाहिँ एकदमै खराब छ। अझ झन यो संघीय संरचना लिएर आयौं। यसले हामी उठ्नुपर्ने जति उठिरहेका छैनौं। बजेट हेर्नू न सेवा सुविधा लिनमा नै जाँदै छ। राजै हुनुपर्छ भन्ने होइन तर संघीयतालाई पनि कम खर्चिलो बनाउन सकिन्थ्यो नि। 

स्थानीय, प्रदेश, संघ भन्या छ तर जनता त संघमा पुग्नै पाउदैन। सबै काम स्थानीय तहमा गर्नुपर्छ। स्थानीयको फाइल पुगिरहेको होला प्रदेशमा तर फाइल राख्ने अफिस मात्रै खोल्न त प्रदेश किन चाहियो। त्यसैले राजनीतिक कुरा गर्ने हो भने नेताहरू राजनीतिक ज्ञान धेरै नै छ तर राजनीतिक प्रवृत्ति चाहिँ राम्रो छैन।

कमेन्ट लोड गर्नुस