सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राकृतिक बहाब थुन्ने संरचनाका कारण राजधानीवासी हैरान

२०७८ साउन ३, ०७:०१ नारायण अवस्थी

धनगढी: हरेक वर्ष बर्सातमा धनगढी उपमहानगरको १ नम्बर वडादेखि ८ नम्बर वडासम्मका विभिन्न टोल तथा बस्ती डुबानमा पर्ने गरेको छ। प्राकृतिक बहाब रोक्ने गरी निर्माण भएका भौतिक संरचनाले डुबानको समस्या बढेपछि राजधानीवासी हैरान भएका छन्। 

धनगढी ८ को रामजानकी टोलका स्थानीय काशीराम विष्टले अन्दाधुन्द सडक निर्माण गर्नाले धनगढीमा डुबान हुन लागेको बताए।  

वडा नम्बर ७ को देवहरिया र सद्भावना टोलमा पनि केही वर्षदेखि डुबानको समस्या हुन थालेको स्थानीय प्रभुनारायण बखरिया बताउँछन्। ‘पहिले हाम्रो टोलमा डुबानको समस्या थिएन तर हुलाकी सडक बनेपछि डुबान पर्न थालेबको छ’ उनले भने, ‘हुलाकी सडकमा कल्भर्ट नराख्दा पानीको निकास हुन सकेन अनि घरभित्र पानी पस्न थाल्यो।’

धनगढीको वडा नम्बर ३ को बडहरा, विशालनगर, मित्रनगर केदार टोल लगायतका टोलमा सबैभन्दा बढी डुबानको समस्या भएको स्थानीय बताउँछन्। वडा नम्बर ३ मा पानीको निकास नै बन्द भएपछि स्थानीय आन्दोलित समेत भएका छन्। मित्रनगरमा रहेको घरभित्र चार दिनदेखि पानी पस्दा हैरान भएको राधिका रावलले बताइन्।

वडा नम्बर २ का स्थानीयले भने डुबानबाट सबैभन्दा बढी पीडित आफूहरु भएको बताएका छन्। वडा नै डुबानमा पर्ने समस्या रहेको भन्दै ६ लेन सडकको कल्भर्ट नै बन्द गर्नुपरेको वडा नम्बर २ शिखरटोलकी स्थानीय मिना थापाले बताइन्। ‘धनगढीमा मात्रै डुबानको समस्या छ। सरकारले पानीको निकास खोल्न काम गर्नुपर्ने हो तर काम हुन सकेको छैन।’ उनले भनिन्, ‘हामी पानी थुन्न चाहन्नौँ तर ६ लेन सडकको दुवैतर्फ नाली बनाएर पानीको निकास मोहनामा गर्नुपर्छ।’

धनगढीको लक्ष्मीनारायण चोकसहितको मुख्य बजार क्षेत्रसहित शिवनगर, बसन्त टोल, हसनपुर, तारानगरको केही भाग, उत्तरबेहडीमा पनि पानी जम्ने समस्या रहेको छ। त्यसको मुख्य कारण पानीको प्राकृतीक बहाबलाई रोक्नु अर्थात खोलानालामाथि भएको अतिक्रमण नै हो भन्ने नगरवासीले बताउने गरेका छन्। 

उक्त समस्या समाधानका लागि उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले असोजपछि खोलानालाको अतिक्रमण हटाउने घोषणा गरिसकेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस