सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले फुटाउन देउवाले एकाएक विश्वासको मत लिन खोजे : भीम आचार्य

२०७८ साउन ३, ०१:२१ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका सचिव भीम आचार्यले एमाले विभाजित गर्ने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको बताएका छन्।

१०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने मत निष्कर्षमा पुगेको दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्यसहितका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए। त्यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

तर एकाएक प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन्। नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्य भन्छन्, ‘आज हतार गरेर लिन के जरुरी छ ?’

संसद जोगाउन मधेसका पार्टीहरुसँग छलफल गर्ने लगायतका विकल्प हुँदाहँदै हतारमा विश्वासको मत लिन खोजिएको भन्दै उनले भने, ‘नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र अन्तरगत यो सब भइरहेको छ। जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं।’

एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको उनले बताए। एमाले सचिव आचार्यले अघि भने, ‘पार्टीमा कुनै छलफल भएको छैन, हाम्रो भनिएको टिममा पनि के गरौं, कसो गरौं छलफल भएको छैन। मनलागी गर्छ भने व्यक्तिगत कुरा हुन्छ। समूहको कुरा होइन।’

कमेन्ट लोड गर्नुस