सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुरक्षित नागरिक आवासको रकम काम नगर्दै भुक्तानी दिने तयारी

२०७८ साउन ३, ०८:०४ रोशन भट्ट

धनगढीः कैलालीमा संघीय सरकारको खरको छाना हटाउँदै सुरक्षित नागरिक आवास कार्यक्रमको काम नहुँदै भुक्तानी दिने तयारी भएको छ। 

कैलालीका ७ स्थानीय तहमा लागु भएको सुरक्षित नागरिक आवास कार्यक्रमको रकम काम नगर्दै भुक्तानी दिने तयारी थालिएको कैलारी गाउँपालिकाका स्थानीय बसन्त बोहराले बताए। ‘आर्थिक वर्षको अन्त्यमा आएर बजेट सक्काउनकै लागि कार्यक्रम कार्यान्वयन गरेको जस्तो देखिएको छ’ उनले भने, ‘यो बजेट दुरुपयोग हुन्छ, अहिले काम गर्न सकिने मौसम पनि छैन।’

वडा तथा स्थानीय तहहरुका जनप्रतिनिधि निकटका व्यक्तिलाई लाभग्राहीको सूचिमा समावेश गरिएका बेला काम नहुँदै रकम समेत भुक्तानीको तयारी भइरहेको उनले बताए। काम नहुँदै ५० हजारका दरले लाभग्राहीलाई रकम भुक्तानी दिने तयारी थालिएकाले रकम दुरुपयोग हुने आशंका उनको छ। 

कैलारी गाउँपालिकाकै वडा नम्बर ६ ले धनगढीमा पक्की घर भएकाहरुलाई समेत विपन्नको सूचीमा राख्दै रकम भुक्तानीको प्रक्रिया थालेको पाइएको छ। जिल्लाका अन्य स्थानीय तहहरुमा समेत सोही अवस्था देखिएको छ। गौरीगंगा नगरपालिकामा पनि खरको छाना हटाएर टीन लगाउने कार्यक्रम सञ्चालन भएको छ।

आर्थिक वर्ष २०७७/०७८ मै सम्पन्न गर्नुपर्ने कार्यक्रमको काम अर्को आर्थिक वर्ष सुरु हुँदा पनि थालिएको छैन। त्यहाँ एक परिवारलाई घरमा टीनको छाना लगाउनका लागि ५० हजार दिने प्रावधान छ। तर जनप्रतिनिधि निकटका व्यक्तिहरु पुरानो घरको फोटो देखाएर भुक्तानी लिने गरेको आशंका स्थानीयले गरेका छन्। 

गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले भने विपन्न परिवारको शिविरमा टिनको छाना लगाउनका लागि बजेट दिने कुरा भइरहेको बताए। कैलालीमा उक्त कार्यक्रम अन्तरगत २५ सय भन्दा बढी लाभग्राहीलाई छनौट गरिएको छ। धनगढी उप–महानगरपालिकामा पनि ६ सय भन्दा बढीको नाम लाभग्राहीको सूचिमा परेको थियो।

पछिल्लो समयमा आएर बजेट अभावका कारण २ सय ५० भन्दा केही बढीलाई मात्रै उक्त सूचीमा राखिएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले बताए। ‘लाभग्राही छनौट गर्ने कार्यविधि अनुसार नै हामीले काम गरेका छौं’ उनले भने, ‘बजेट कम भएका कारण यस वर्ष थोरैलाई छनौट गरिएको हो।’ 

उता उक्त कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाई धनगढीले भने आफ्नो समन्वय गर्ने मात्रै काम भएको जिकिर गर्दै आएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस