सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सीमावर्ती बजारमा लागुऔषधको कारोबार बढ्दो, सुदूरपश्चिममा नियन्त्रण गर्न चुनौती

२०७८ साउन २, ०७:०७ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेपाल–भारत खुला सीमानाका कारण लागुऔषधको जालो फैलिएको निश्कर्ष प्रहरीको छ। ११ महिनामा प्रदेशका ८ जिल्लाबाट तीन सय ४३ जना प्रयोगकर्ता पक्राउ गरेको प्रहरीले मुख्य समस्या खुला सीमाना भएको निश्कर्ष निकालेको हो। कारोबार भारतमा र प्रयोग नेपालमा हुँदा नियन्त्रणमा पनि चुनौती देखिएको छ।

भारतसँग सिमाना जोडिएका कञ्चनपुर र कैलालीबाट गत आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी लागुऔषधका प्रयोगकर्ता पक्राउ परेका छन। कञ्चनपुरमा एक सय ९६ जना पक्राउ परेका छन भने कैलालीमा १ सय २७ जना पक्राउ परेका छन्। नौ जना भारतीय नागरिक पक्राउ गरेका छन्। नेपाली नागरिक लागुऔषधका प्रयोगकर्ता बढी छन भने भारतीय नागरिक कारोबारी हुन्। भारतीय सिमावर्ती बजारमा लागुऔषध पर्याप्त पाउने भएकाले कैलाली–कञ्चनपुरमा लागुऔषधको जालो भत्काउन नसकिएको तर्क प्रहरीको छ। तर सीमा नाकामा लागुऔषधको कारोबार रोक्न भने प्रहरीले भूमिका खेल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भारतीय पक्षबाट सहयोग नहुने गरेको बताए। उनले भने, “कैलाली–कञ्चनपुरको सीमावर्ती बजारमा कारोबारीहरु सिफ्ट भएको देखिन्छ। बिषेशगरि कञ्चनपुरको बेलडाडी, बेलौरी एरियामा। भारतीय बजारमा उनीहरु छन्। उनीहरुको लिङ्केज इन्डियाको पाउने ठाउँहरु, पाकिस्तानसँग जोडिएका एरियाहरुमा छ।” भारतीय प्रयोगकर्ता कम र कारोबारी बढी भएकाले भारतीय सुरक्षा अधिकारीहरुले संरक्षण दिने गरेको आशंका गरिएको छ। भारतीय बजारमा सहज रुपमा लागुऔषध खरिद गर्न पाउने भएकाले सीमा नाकामा चेकजाँच बढाउन पर्ने तर्क धेरैको छ।

लागुऔषध नियन्त्रणका लागि दुई देशका सुरक्षा निकायबीच समन्वयन हुन सकेको छैन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले पनि भारतीय पक्षबाट सहयोग नभएको प्रतिकृया दिए। उनले भारतसँग सिमाना जोडिएका सबै जिल्लाको चुनौति लागुऔषध नै भएको बताए। उनले भने, “समन्वय हुन्छ, हुनुपर्ने हो। गर्दैछौ हामीले। आउने पारिबाट हो। उनीहरुले खासै चाँसो दिदैनन्। हामीलाई समस्या हुन्छ।” लागुऔषधका कारण अन्य अपराध समेत हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।

लागुऔषधको प्रयोगका कारण आर्थिक संकट हुने र चोरी, पारिवारिक कलह, हत्या, बलात्कार जस्ता अपराध समेत हुने गरेका छन्। तर नेपाल प्रहरीसँग भारतबाट ल्याउन लागुऔषधको कारोबार रोक्ने ठोस योजना भने छैन्। स्थानीय तहहरु, जनप्रतितिधि तथा युवाहरुलेसमेत लागुऔषधको कारोबार नियन्त्रणमा सहयोग गर्नुपर्ने कञ्चनपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। “कोरोनाका कारण समन्वय गर्न पाएका छैनौ। कोरोना कम भएपछि कार्यक्रम गर्छाै। जनप्रतिनिधिहरुबाट समेत सहयोग माग्छौ। प्रहरीले मात्र गर्न सक्ने हैन,” उनले भने।

दुई देशका अधिकारीबीच हुने बैठकमा पनि लागुऔषध नियन्त्रणको मुद्धा उठ्ने गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले बताए। तर बैठकपछि समन्वय भने हुन सकेको छैन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस