सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालन हुँदै

२०७८ असार ३०, ०६:२९ सरेन जैरू

धनगढीः धनगढीमा स्थापित प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको हो। 

अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्रको शुक्रबार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

दुई तले भवनमा सञ्चालन हुने रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरिएको छ। 

प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ। 

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले रक्त सञ्चार केन्द्र कैलालीले अहिले वार्षीक ८ हजार पिन्ट रगत संकलन र आपूर्ति गर्दै आएको बताए। ‘रक्त सञ्चार केन्द्र कैलालीले वार्षीक ८ हजार पिन्ट रगत संकलन र आपूर्ति गर्दै आएको छ’ उनले भने, ‘निकट भविष्यमा गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि झण्डै १६ हजार पिन्ट आवश्यक पर्ने देखिन्छ। तर प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगतको बढ्दो मागको व्यवस्थापनमा सहजता हुन्छ।’  

प्राविधिक जनशक्तिको व्यवस्थापनमा भने चुनौती
प्रादेशिक रक्त सञ्चार केन्द्रमा रक्त तत्व जाँच गर्ने प्रविधिसमेत रहेको छ। यसले एक जनाले एक पिन्ट रगत दान गर्दा एकभन्दा बढी बिरामीलाई रगत उपलब्ध गराउन सकिने छ। 

सोही कारण रक्त सञ्चार केन्द्रमा उच्च स्तरीय मेसिन तथा उपकरणहरू जडान गरिएकाले प्राविधिक जनशक्तिको व्यवस्थापनमा भने चुनौती हुने सभापति जोशीले बताए। 

रक्त सञ्चार केन्द्र कैलालीका प्रमुख धरणीधर पन्तले रक्त सञ्चार केन्द्र कैलालीले अहिलेसम्म एक पिन्ट रगत ८५० मा उपलब्ध गराउँदै आएको बताए। तर प्रादेशिक रक्त सञ्चार केन्द्रबाट बढी मूल्यमा रगत खरिद गर्नुपर्ने देखिएको छ।

‘प्रादेशिक रक्त सञ्चार केन्द्रमा थप जनशक्ति आवश्यक पर्ने र उपकरण पनि अत्याधुनिक सञ्चलन हुँदैछ’ उनले भने, ‘रेडक्रसको कोषले धान्न नसक्ने भएपछि रगतको मूल्य बढाउने  तयारी गरेका छौँ।’
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस