युवराज दीपेन्द्रको व्रतबन्धः जहाँ निस्किएको थियो गेटामा चिकित्सालय खोल्ने कुरा
धनगढी: नेपाल सरकारका सेवा निवृत्त सचीव तथा कुशल साहित्यकार बामन न्यौपाने(बाबा न्यौपाने)सँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
अहिलेसम्मको यात्रालाई कसरी सम्झिनुहुन्छ ?
मेरो जीवनको अधिक समय सरकारी कर्मचारीकै रुपमा बित्यो। पछिल्लो १० वर्षदेखि रिटायर्ड भएर बसिरहेको छु। साहित्यक यात्राको कुराकानी गर्दा पनि अहिले पछिल्लो समय अलि पातलो छ। पढ्ने र सुन्ने कुरा अलि बढी नै छ। यसैगरी चलेको छ।
कैलालीको जिल्ला अधिकारी भएर काम गरेको अनुभव पनि छ। फर्केर हेर्दा सन्तुष्ट हुनुहुन्छ हिजोको आफ्नो कार्यशैली र उपलब्धिहरु प्रति ?
२१/२२ वर्ष पहिलेको कुरा गर्दैछु। २०५५ साल असारमा म कैलालीमा आएको थिए। कैलालीको वातावरण एकदम सहज थियो। कैलालीको समाज एकदम सकारात्मकता थियो। त्यहाँको आम मानिसले प्रशासनलाई देखाउने सद्भाव, प्रकट गर्ने सम्मान र प्रशासकलाई केही गरौं भन्ने भाव सृजना गराउने किसीमको समाज छ।
फेरि काठमाडौंबाट सुदूरपश्चिमलाई हेर्दा कस्तो देखिन्थ्यो त भन्दा म जाँदै गर्दासम्म पनि राजमार्गमा २१ वटा पुलहरु निर्माण गर्न बाँकी थिए। वर्षातको समयमा अनिवार्य काठमाडौं आउनुपर्ने भएर ३/४ चोटी त म भारतको बाटो भएर आएको थिए। मान्छेहरु कस्तो सोच्थे भने कैलाली त धेरै टाढा हो। सकेसम्म जानै नपरोस्। प्रस्टै भन्न त सक्दिन तर मलाई पनि त्यस्तै लाग्थ्यो होला।
तर त्यहाँ काम गर्दै गएपछि म रमाए। मुख्यहरु यति मिलनसार यति सहयोगी पाएकी बसौं बसौं लाग्थ्यो। कहिल्यै लागेन म सरुवा भएर यताबाट जाँउ। म दुईवटा दृष्टिकोणले हेर्छु। अहिले त कस्तो छ तर त्यतिखेर धनगढीमा कैलाली बहुमुखी क्याम्पस मात्रै एक्लो क्याम्पस थियो। उच्च शिक्षाको प्राप्तिको लागि धेरै जसो भारत जाने चलन थियो।
स्वास्थ सेवाको लागि भारत जाने चलन त आम नै थियो। धान्न सक्नेहरु त सामान्यभन्दा सामान्य किसिमको रोग लागेपनि भारततिर जाने गर्नुहुन्थ्यो। अहिले पनि यो क्रम त छँदैछ। सारै परिवर्तन भएको भनेर त म भन्दिनँ तर एक हदसम्म भएपनि अहिले फरक त छ नै। अनि एउटा मनमा सोच आउन थाल्यो अस्पतालको स्तरोन्नती कसरी गर्न सकिएला।
प्रशासनको जिम्मेवारी लिँदा अस्पताल विकास कोषको समितिमा पनि हुनुपथ्र्यो। त्यहाँ पनि धेरैको गुनासो हुन्थ्यो ‘यो भएन, त्यो भएन’ भनेर। एउटा चिन्तन मनमा थियो के गर्न सकिएला भनेर।
यतिकैमा एकदिन एउटा टिम म कहाँ आयो। ‘हामी नेपाल सरकारले पठाएर आएका हौं। चिकित्सालय खोल्नको लागि हामीलाई सहयोग चाहिन्छ। प्रधानमन्त्रीको कार्यालयबाट सुदूरपश्चिमका सबै जिल्ला अधिकारीहरुसँग समन्वय गर्न हामीलाई पठाइएको हो। तपाईले सहयोग गर्नुपर्छ’ भनेर उहाँहरुले भने।
यस्तो सुनेपछि मनमा फरकै किसीमको आनन्द आयो। मैले उहाँहरुलाई सहयोग त म गर्छु तर यो विषयमा जानकारी गराई दिनुस् भने। उहाँहरुले भने अनुसार कान्तिपिटका शंकराचार्य जहेन्द्र सरस्वतीले दक्षिण भारतमा शंकर आयुविज्ञान भनेर एउटा संस्था चलाउनु भएको रहेछ।
जगतगुरु नेपालमा त्यतिखेरका युवराज दीपेन्द्रको व्रतबन्धका लागि आएका रहेछन्। उहाँले त्यहीबेला ‘राजालाई म नेपालमा केही गर्न चाहान्छु। के गर्न सकिन्छ सहज वातावरण बनाई दिनुपर्यो भनेपछि त्यतिखेरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजाले मेडिकल कलेज खोल्ने भन्नुभएको छ। कहाँ–कसरी सहज र उपयुक्त वातावरण हुन्छ यो गर्नुस भनेपछि प्रधानमन्त्रीले पनि अरु ठाउँमा मलाई मेडिकल कलेज चाहिँदैन सुदूरपश्चिममा आवश्यक छ। त्यहाँ कोही जान चाहदैनन् त्यसैले त्यहाँ तपाईं गइदिनुस र सुदूरपश्चिमको जुनसुकै जिल्लामा भएपनि संचालन गरिदिनुस। त्यहाँको प्रशासनलाई तपाइलाई हरतरहको सहयोग गर्न भनिदिन्छु’ भनेपछि उहाँहरु आउनुभएको रहेछ।
त्यसपछि उहाँहरुसँग मेरो लामो नै विमर्श भयो। त्यतिखेर गेटामा गट्टामिल थियो। गेटामै आँखा अस्पताल थियो। अनि मैले धनगढीको प्रवद्ध व्यक्तित्व राजनीतिक, सामाजसेवीसँग यस्तो यस्तो प्रस्ताव आएको छ भनेर छलफल गरे।
छलफलमा गट्टामिलमा दरबारको पनि स्वामित्व छ त्यहाँ संचालनमा ल्यायो भने राम्रो नै होला भन्ने कुरा आयो। सहरभन्दा बाहिर पनि र पछि सहर विस्तार गर्न पनि हुनेहुँदा यही प्रस्ताव गरौ भन्ने भयो र प्रस्ताव गर्यौं।
सरकारले लगभग ५१ बिघा जति जग्गा भोकचलनको लागि दिने निर्णय गर्यो। यसको निम्ति उहाँहरुले एउटा संस्थानै स्थापना गर्नुभएको थियो, ‘जहेन्द्र सरस्वती’ कै नामबाट कोषको लागि भनेर।
पछि त्यसबाट पनि लगभग ६ बिघा जति जग्गा पनि खरिद गर्यौं। शंकाराचार्य नै धनगढी आउनुभयो। एउटा सभालाई सम्बोधन पनि गर्नुभयो। र भूमिपुजनको काम पनि भयो। त्यसपछि छिट्टै नै होला भन्ने लाग्यो। आफू कर्मचारी मान्छे साढे एक वर्ष बसे र म निस्के। कामले निरन्तरता पाउन सकेन। कोषमा अहिले पनि म सदस्य छु। त्यसबाट किनिएको जग्गामा कसैले स्थापनाको काम गर्छ कि पछिसम्म पनि प्रयास गरिरह्यौ। टिचिङ अस्पतालको शाखाकै रुपमा धनगढीमा संचालन गर्ने कुरा पनि त्यतिखेरदेखि चलेको हो।
डा. चेतराज पन्त लगायतका अन्य केहीसहित मैले त्यो जग्गालाई पनि प्रयोग गर्नेगरी मेडिकल कलेज संचालन गरौ भनेर शिक्षा मन्त्रालय स्वास्थ मन्त्रालयहरु दौडधुप गर्यौ। प्रयास गरिरह्यौ। अहिले आएर त्यो प्रयासले पूर्णता पाउँछ कि भन्ने भएको छ। लगभग २ दशक नै लामो दौड भयो। मैले मात्रै गरेको त होइन बाटो मात्रै देखाएको हुँ। तर आफूले सुरु गरेको कामले पूर्णता न पाउँदा केही असन्तुष्टि भने छ। मेडिकल कलेज संचालनमा आएको दिन एक किसीमको सन्तुष्टि मिल्छ।
जिल्ला अधिकारीको रुपमा रहँदा ठुलो साहित्य क्षेत्रमा पनि योगदान पुर्याउनु भएको भनेर कुरा हुन्छन्। कसरी साहित्यको क्षेत्रमा काम गर्न पुग्नुभयो?
म सानैदेखि साहित्यलाई रुचाउने मान्छे हुँ। हाम्रो समयमा साहित्यिक त्यस्तो माहोल हँुदैन थियो। पुस्तकहरु पनि खासै छापिदैनन् थिए। पत्रपत्रिकाहरु पनि खासै थिएनन्। गोर्खापत्रले सानो ठाउँ दिएर समेट्थ्यो तर प्रयाप्त थिएन त्यसमा छाप्न पनि ठूलो संघर्ष गर्नुपथ्र्यो। जिल्लामा जाँदा आफ्नो रुचि कता–कता झल्किने रहेछ र त्यहीँ किसिमको मान्छेसँग सम्बन्ध बन्ने रहेछन्।
धनगढीको कुरा गर्दा कैलाली बहुमुखी क्याम्पसको संचालक समितिमा सीडीओ पनि रहने व्यवस्था थियो। क्याम्पस प्रमुख डा.हेमराज पन्तसहित ४–५ जना जति प्रशासनमा भेट्न आउनुभयो। कैलाली बहुमुखी क्याम्पसको सबै इतिहास बताउनुभयो। पछि उहाँको लगाव देखेर म खुबै प्रभावित पनि भएको थिए। माधव वियोगी पनि त्यो टिममा हुन्थ्यो।
उहाँ युवा पुस्तालाई कविता लेख्न खुबै हौसला दिनुहुन्थ्यो। र, छन्द कविता बचाउ अभियान नै चलाउनु भएको थियो। यसरी म क्याम्पससँग र माधव जीसँग अलिअलि जोडिएको थिएँ। र, पछि अन्य साथीहरूसँग पनि सम्बन्ध बन्दै गयो। पछि एकदिन साथीहरूले हामीसँग सुदूरपश्चिम साहित्य समाज दर्ता भएको छ भनेर बताए।
म भन्दा पहिला एकजना साहित्यिक सीडीओ आउनु भएको थियो। उहाँले नै त्यो संस्था दर्ता गर्नुभएको रहेछ। त्यो त्यतिकै निष्क्रिय जस्तो लाग्यो र विधान पनि सामूहिक जस्तो लागेन। उहाँहरुले देखाएपछि मैले नै त्यो विधान पुनःलेखन गरे र समितिको पनि पुनःगठन गराए।
सुदूरपश्चिमको साहित्यिक सम्भावना भएको ठाँउ हो केही प्रयास गरौ लाग्यो। सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार भनेर एउटा पुरस्कार प्रदान गर्न कोष निर्माण गर्न सल्लाह गरे। कोष निर्माणको लागि आफैले चन्दा दिएर चन्दा अभियान सुरु गर्यौ।
पछि मैले पनि चन्दा दिएको अभियान हो भनेर बजारियाहरुसँग चन्दा दिन आग्रह गर्दै गयौ। मेरो उदेश्य २ लाख भन्दा बढी उठाउने थियो तर केही कम नै उठ्यो। पछि त्यहीँ रकमलाई अक्षयकोषको रुपमा संचालन गर्ने भन्ने निर्याय भयो। पछिल्लो समयमा त साहित्यिक समाजले ठुला र राम्रा काम गरिरहेको छ।