सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हुलाकी सडक मापदण्ड विपरीत निर्माण

२०७८ असार २९, ०७:०५ कमल सावद

धनगढीः कञ्चनपुरमा मापदण्ड विपरीत हुलाकी सडक निर्माण भएको स्थानीयले आरोप लगाएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माण भएको आरोप लागेको हो। 

निर्माण कम्पनीले हुलाकी सडकभन्दा धेरै होचो नाली निर्माण गरेको छ। यस्तै सो क्षेत्रमा गत वर्ष मात्र कालोपत्रे गरिएको सडकमा खाल्डै–खाल्डा भएका छन्। निर्माण कम्पनीले न्यून गुणस्तरको काम गरेकाले सडकमा खाल्डो परेको स्थानीयको गुनासो छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सडक निर्माणमा अवरोध गरेको भन्दै गुनासो गर्दै आएको बाबा–हंश–सिद्धीसाई जेभीले मापदण्ड विपरीत काम गरेको स्थानीयले आरोप लगाएका हुन्। 

सडक खण्डको बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक निर्माणको बाबा–हंश–सिद्धिसाई जेभीले ४१ करोड ७६ लाख ६३ हजारमा ठेक्का पाएको थियो। तर उक्त निर्माण कम्पनीले बेलौरी नगरपालिकाको वडा नम्बर ३ र ४ को क्षेत्रमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरेको खुलेको छ। 

सडकको उचाइभन्दा नालीको उचाई धेरै कम भएको स्थानीयले बताएका छन्। सडकको पानी नालीमा जाँदा सडक नै भत्किएको स्थानीय रामबहादुर बोहराले बताए। उनले भने, ‘सिद्धि शाही कन्ट्रक्सनले ठग्दैछ। एक–डेढ मिटर त नाली छ। नाली तमाथि ल्याउन पर्यो। नाली ठिक बाटोमा हुनुपर्यो। पानी जाने पो हो नाली भन्या त।’ 

जेभीले निर्माण गरेको कालोपत्रेसमेत एक वर्ष नहुँदै भत्किएको छ भने नाली पनि भत्किन थालेको छ। निर्माण कम्पनीले मापदण्ड अनुसार काम नगरेकाले सडक निर्माणको काम पूर्ण नहुँदै कालोपत्रे उप्किएको स्थानीयले बताएका छन्। बोहराले भने, ‘एक लेयर हालेको थियो त्यो भत्किएको छ। अर्काे लेयर हाल्नै बाँकी छ। कोही भुक्तानी लिइसक्यो भन्छन्। कोही छैन भन्छन्।’

निर्माण कम्पनीले भने उक्त क्षेत्रका स्थानीयको विरोधका कारण नाली होचो निर्माण गरिएको दाबी गरेको छ। उक्त क्षेत्रमा साँघुरो सडक भएकाले मुवाब्जाबीनै १२ मिटर बनाउँदा स्थानीयले विरोध गरेको निर्माण कम्पनीले बताएको हो। 
स्थानीयले घरको पानी नालामा जानुपर्ने माग गरेकाले सडकभन्दा नाली होचो निर्माण भएको बाबा–हंश–सिद्धीसाई जेभीका चक्रदीप शाहीको दाबी छ। ‘उहाँहरुले घरको पानी गएन भने नालीको अर्थै हुँदैन भन्नुभयो। फेरि डि–साप गएर नाली तल बनाइ दिनुपर्यो भन्ने कुरा भयो’ उनले भने, ‘उहाँहरुको नालीभन्दा सडक ८० सेन्टीमिटर माथि आयो।’ 

हुलाकी सडक योजना कार्यालयले उक्त क्षेत्रको नाली निर्माणको भुक्तानी भने दिएको छैन। 

यस्तै डोकेबजार क्षेत्रमा मापदण्ड विपरीत निर्माण गरिएको सडक पुनःनिर्माण थालिएको हुलाकी सडक योजना कार्यालयका इन्जिजियर तथा सूचना अधिकारी पदमबहादुर मडैले बताए। उनले सडक डिभिजन कार्यालय महेन्द्रनगरले बनाएको सडक हुलाकी सडक मापदण्डमा नपरेकाले भत्काइएको बताए। ‘त्यो हाम्रो डिजाइन अनुसार मिल्दैन। कही तल कही माथि छ। ४ वर्ष पहिला पीच भएको त्यसको चौडाई पनि पुग्दैन्, जम्मा ५ मिटरको पिच हो त्यो। हाइट पनि पुग्दैन। हाइट पनि उठाउनुपर्ने छ। हाम्रो पिच १२ मिटरको भयो जम्मा। पिच ७ मिटर ५ मिटर ग्रावेल हुन्छ’ सूचना अधिकारी मडैले भने।

कञ्चनपुर खण्डमा तीन प्याकेजमा २०७३ फागुनमा ठेक्का सम्झौता भएका थियो। डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर र बेल्डाडीदेखि दैजीसम्मको २२ किमी हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ भने बीचभागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर बाबा–हंश–सिद्धीसाइ जेभीले पाएको छ। 

डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर सडक  ३३ करोड २ लाख ५२ हजारमा २०७६ साउन मसान्तसम्म सक्ने गरी सम्झौता भएको हो। बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकको लागत ४१ करोड ७६ लाख ६३ हजार रहेको छ। भने, बेल्डाँडीदेखि दैजीसम्मको २२ किमी सडकको लागत ४० करोड २६ लाख ५९ हजार रहेको छ। 

सम्झौताको समय सकिएको दुई वर्ष हुँदापनि ७५ प्रतिशत मात्र सडक निर्माणको काम सम्पन्न भएको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस