सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा मागी बिहेपछि श्रीमानले दिल्ली पुर्‍याए, त्यहाँ लगेर ज्यान मार्ने योजनासहित बन्धक

२०७८ असार २९, ०३:४९ सरेन जैरू

धनगढीः भारतको राजधानी नयाँ दिल्लीमा ज्यान मार्ने योजनासहित बन्धक बनाइएकी एक महिलाको उद्धार गरिएको छ। 

आफन्त नेपाल नामक संस्थाले गुल्मीको दुरबार गाउँपालिका–४ माइती घर भएकी २२ वर्षीया युवतीको दिल्लीको बसन्तकुञ्ज थानाअन्तर्गत घिर्टोनीबाट उद्धार गरेको हो। 

ती युवतीलाई अर्घाखाँचीको पाँडेनी गाँउपालिका ४ का उनका श्रीमान दुर्गा प्रसाद घिमिरेले ज्यान मार्ने योजनासहित २४ दिन पहिला दिल्ली पुर्‍याएका थिए। रूपन्देहीस्थित कृष्णपुरको खेतको बाटो भएर युवतीलाई भारत पुर्‍याइएको थियो।

यसरी भयो उद्धार
४ वर्ष पहिले पीडित युवती र दुर्गाप्रसाद घिमिरेको धुमधामका साथ मागी विवाह भएको थियो। केही समय उनीहरूको दाम्पत्य जीवन सुखमय बित्यो। तर त्यसको केही महिनापछि श्रीमानले यातना दिन थालेको पीडित महिलालाई उद्धृत गर्दै आफन्त नेपालका भारत प्रतिनिधि नविन जोशीले बताए। 

दुर्गाले ज्यान मार्ने उद्देश्यसहित पीडित महिलालाई बन्द कोठामा यातना दिने, कुटपिट गर्ने, नग्न भिडियो बनाउने र करेन्ट लगाउने जस्ता क्रियाकलाप गर्ने गरेका थिए। साथै परिवारलाई सम्पर्क गर्न नदिने गरेका थिए। 

पीडित महिलाले छिमेकी भारतीय महिलाको सहयोगमा नेपालमा माईतीलाई फोन गरेर गुहार मागेपछि रूपन्देही प्रहरीले आफन्त नेपालका प्रतिनिधि नविन जोशीलाई सम्पर्क गर्‍याे। आफन्त नेपालले दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा युवतीको उद्धार गरेको हो। 

नेपालको घटना
४ वर्ष पहिले विवाह भएपनि उनीहरूको पारिवारिक विवाद सुरूदेखि नै बढेको थियो।  केटा पक्षले केटी पक्षलाई तनाव दिने गरेको रूपन्देहीका प्रहरी निरिक्षक केशव केसीले बताए। दुर्गाले पीडित महिलालाई नग्न बनाएर भिडियो बनाउने, यौन क्रियाकलापमा संलग्न हुन बाध्य बनाउने, करेन्ट लगाउने जस्ता क्रियाकलाप नेपालदेखि नै गर्दै आएका थिए। 

‘पहिला दुबै पक्षबीच विवाद भएपछि न्यायिक समितिमा मिलापत्र भएको थियो’ प्रहरी निरीक्षक केसीले भने। 

अहिले दुर्गा प्रसाद घिमिरेलाई दिल्ली पुलिसले जेल चलान गरेको छ भने, पीडित महिलाको दिल्लीस्थित सफतरजँग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको एक वर्षकी छोरी छिन्।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस