सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रजातन्त्रको जग शिक्षा हो, जहाँनिर शिक्षा हुँदैन त्यहाँ प्रजातन्त्र हुँदैन’

२०७८ असार २९, ०१:४८ खबर संवाददाता

धनगढी: समता स्कुलका संस्थापक उत्तम सञ्जेलसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 
उत्तम सञ्जेल शिक्षा क्षेत्रमा काम गर्ने उत्तम सञ्जेल कसरी बन्यो ?
सबै कुरा एउटा परिस्थितिले निर्माण गर्छ। परिस्थितिले जन्माउँछ। राम्रो, सहज शिक्षा थिएन त्यसैले यो सहज र राम्रो होस् भन्ने उद्देश्यले यो पनि भयो। यसकै परिणाम हो भन्नुपर्छ।

यत्रो अभियान सुरु गर्ने साहस कसरी गर्नुभयो ?
के हुन्छ भन्दा। एउटा मान्छेलाई भोक लाग्यो एकचोटी खुवायो भने दोस्रो दिन फेरि भोक लाग्छ। एउटा नयाँ कपडा लगाई दिने हो भने अर्को महिना सम्ममा त्यो फाट्छ। कपाल कोरिदिन पनि सकिन्छ यस्तै अन्य कुरा पनि गर्न सकिन्छ तर ती कुरा त्यति दिगो रहदैँन। त्यसैले आत्मनिर्भर बनाउनुपर्यो। 

आत्मनिर्भर बनाउन शिक्षा बाहेक अरु विकल्प छैन। उसले भात खान पनि आफै गर्न सकोस्। कपडा किन्ने पनि आफै बन्न सकोस्। त्यसको लागि शिक्षा आवश्यक पर्ने भयो। शिक्षा सबैभन्दा आधारभूत आवश्यकता हो। त्यो पनि अहिलेको समयमा त अंग्रेजी शिक्षा। 

यसै सोचले समता स्कुलको स्थापना भएको हो। फेरि अर्को कुरा अहिले हामी प्रजातान्त्रिक अभ्यासमा छौ। प्रजातन्त्रको जग भनेको शिक्षा हो। जहाँनिर शिक्षा हुँदैन त्यहाँ प्रजातन्त्र हुँदैन। अशिक्षित मान्छे धेरै भएको ठाउँमा प्रजातन्त्र फल्न फुल्न सक्दैन। त्यसैले अहिले नेपालको प्रजातन्त्र के हो भनेर सोधिहाल्छनु मान्छेहरुले यो त लुटतन्त्र हो। यहाँ ग्याङ छन् कुन ग्याङ अगाडि आउने र खाने भन्ने कुरो मात्रै हो। प्रजातन्त्र भनेको त अरुको कुरा सुन्ने विषयवस्तु हो। र, लोकतान्त्रिक अभ्यास होस् देशमा भन्ने चाहेको।

सन २००१ मा समता स्कुल खोल्दाको  अनुभव र यो आइडियाको विषयमा सम्झिदा कसरी सम्झिनु हुन्छ ?
काम गर्ने मन थियो तर आर्थिक स्रोत साधन थिएन। फेरि म कस्तो सोच भएको मान्छे भन्दा हिमाल पहाड तराई सबैतिरका स्रोतसाधन प्रयोग गर्नुपर्छ भन्ने ठान्छु। अर्को के सोच के छ भन्दा देशभरी रहेका हरेकले सहज जीवन बाच्न पाउन भन्ने ठान्छु। सहज जीवन बाच्ने भन्ने कुरा भनेको शिक्षा र स्वास्थको सुविधा पाउनु हो। यो गर्नलाई गरिएको काम होइन एउटा उदाहरण बनोस् भने हो। मान्छेले ग¥यो भने सकिन्छ भन्ने मान्छेमा महशुस  होस् र सबैभन्दा ठुलो कुरो सरकारले यो बुझोस् भन्ने मैले चाहेको।

अहिलेसम्म कति जति स्कुल संचालनमा ल्याईसक्नु भएको छ ?
देशभित्र ७७ वटै जिल्लामा समता स्कुल छन्। कुनै जिल्लामा दुई–दुई पनि भएर जम्मा ८० स्कुल संचालनमा ल्याएका छौँ। स्थानीय तहसँग मिलेर सहज किसिमको स्कुल संचालन सहकार्यको प्रयास गरिरहेका छौँ। स्थानीय निकायको काहीं–काहिँ सहयोग भएको छ तर काहिँ चाहि सबैभन्दा बढी स्थानीय तहरुले नै दुःख दिएका छन्। २१ वर्ष भयो काम गर्न थालेको। मान्छेहरुलाई बुझाउन प्रयास गरिरहेको तर बुझाउन सकिरहेका छैनौं। त्यसैगरी देशबाहिर पनि केहि देशमा समतमा स्कुल संचालित छन्।

गरिबी निवारणको लागि निःशुलक र गुणस्तरीय शिक्षाले कस्तो भूमिका खेल्छ ?
गत वर्ष एकजना हाम्रो एकजना केटीले स्विजरल्याण्डमा विश्वकै महंगो विद्यालयमा छात्रवृति पाएकी थिइन। तिनको एक वर्षको रिजेल्ट हर्दा झन्डैझन्डै त्यो स्कुल नै टप गरेकी छिन्। भन्नुको मतलब हाम्रो शिक्षा कति बलियो छ। उनले यहाँ पढेकी हुनाले पो उता पढ्न सकिन। स्कुलबाट चिट्ठी आएको छ। तपाईंको बच्चाले राम्रो पढेको छ भनेर। हाम्रो विद्यार्थी संसारको जुनसुकै कुनामा गएर पनि प्रतिस्पर्धा गर्न सकोस्। हामी गरिब देशको हो। हामीलाई दया गरिदिनुस भन्ने स्थिति नआओस्। म पनि प्रतिस्पर्धा गर्ने हो भन्ने भाव होस्। 

सँगै हामीले अंग्रेजी शिक्षालाई जोड दिएका छौ। यो सबैको सहज पहुँचमा होस् भन्ने हो। म यसलाई समाजसेवा त भन्दिन। केहिदिन केहि लिइन्छ भने त्यसलाई समाज सेवा भनिदैन। हाम्रोमा मासिक शुल्क काटिन्छ। लेनदेन हुन्छ त्यसैले समाज सेवा भन्न मिल्दैन। 

तर केही सहज बनाई दिने प्रयास मात्रै हो। समता स्कुलबाट पढेलेखेका करिब ४८ जनाले एमबीबीएस सकाएका छन्। केही पढ्दै छन्। युरोप अमेरिकामा राम्रो पोस्टमा पुगेका कति छन् कति। 

यो सबै बलियो शिक्षाको कारणले नै हो। मान्छे एउटा कहाँनीर गएर जोडिन्छ भने गरिब भएर जन्मनु उसको दोष होइन गरिब भएर मर्नु चाहिँ उसको दोष हो भनिन्छ नि। हो त्यसैले जो बुझेलेखेको भन्छ आफूलाई उसले यो वातावरण बनाई दिनुपर्छ। कसैलाई भात न खुवाउनुस कपडा नदिनुस तर उसलाई यो प्राप्त गर्ने वातावरण भने बनाई दिनुस्।

यो कसरी बन्छ भन्दा त अन्तर्राष्ट्रिय शिक्षा जे चलेको छ त्यहीँ शिक्षा प्रदान गर्ने हो। कसैलाई भात खुवाएर राख्नुभयो भने त्यो आश्रित गराउनु हो। संसारभरी नेपालका लागि भनेर सहयोग माग्ने गरिन्छ। त्यो मलाई यस्तो लाग्छ कि रुखको हाँगाहाँगामा पानी हाल्न खोजी रहनुभएको छ। रुखमा त जरामा पानी हालिदियो दियो भने पातहरुमा त आफै पुग्छ। शिक्षा मानव विकासको जरा हो जुन समयसापेक्ष गुणस्तरीय भयो भने अरु तत्वहरुलाई पनि विकास गराउँछ।
 

कमेन्ट लोड गर्नुस