सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबई जान भीसा बनाएका रामजी खाँड यसरी बने कलाकार

२०७८ असार २८, ०३:३७ खबर संवाददाता

धनगढी: गायक, मोडेल रामजी खाँडसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।  
संगीत क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिलाको जीवनलाई कसरी सम्झना गर्नुहुन्छ ?
मेरो जन्म स्याङ्जा जिल्लाको घुर्लिचौर भन्ने गाउँमा भएको थियो। सानो छँदा लजालु स्वभावको, कम बोल्ने किसिमको थिए। मेला पातहरुमा अलि–अलि गीत गाउने र खेलकुदहरुमा अलि चासो थियो। 

पहिला गायक नै बन्छु भन्ने सोच त थिएन। त्यतिबेला परिवारमा र आफूमा पनि  आर्मीमा जानुपर्छ, लाहुरे हुनुपर्छ भन्ने किसिमको सोच थियो। बिस्तारै रमाइलो हुँदै गयो, कलाकारिताको गीत संगीतको भोक चड्दै गयो।

 अनि साथीभाइहरुले तेरो स्वर मिठो छ भन्ने खालको एक किसिमको आश्वासन, उत्प्रेरणा दिनुहुन्थ्यो। त्यसपछि गायक बनु कि क्या हो हुन्थ्यो। यसरी बिस्तारै स्कुलहरुमा गाउने, जिल्ला स्तरीय प्रतिस्पर्धाहरुमा भाग लिने, लोकगीत प्रतिस्पर्धाहरुमा गाउने अनि प्रथम स्थान हासिल गर्दै गए। 

साथीहरू शुभचिन्तकहरुबाट ‘तँ कलाकार नै बन्दा राम्रो हुन्छ’ भनेर दिमाग भरियो र मलाई पनि कलाकार बन्नुपर्यो। त्यसपछि २०५६ सालमा एसएलसी दिएर सकेपछि केही समय खाली भए। र, त्यतिबेला केही काम गर्छु भन्ने भयो र एसएलसी निकाली सकेपछि त झनै सजिलो भयो। खास त एल्बम गर्छु भन्ने थियो। काठमाडौं त्यतिकै जान्छु भन्दा परिवारले मान्ने  स्थिति थिएन। बुवा इन्डियन आर्मीमा हुनुहुन्थ्यो घरमा आमालाई मनाउनु थियो।  काठमाडौं पढ्न जान्छु भनेर आमालाई मनाए। आएपछि पढाईको पैसाले पहिलो एल्बम निकाले। यसरी नै मेरो सांगीतिक क्षेत्रतिर प्रवेश भयो।

पहिलो एल्बम कस्तो रह्यो कतिको सफल, असफल ?
मेरो पहिलो एल्बम वालिङ् बजार भन्ने हो। व्यवसायिक रुपले त्यसले मलाई रिर्ट्न दियो। अनि त्यसपछि अलि उक्सियौ, हौसियौँ र अर्को एल्बममा लगानी गर्यौँ अर्थात एल्बम नै निकाल्यो तर त्यसमा भने हामी डुब्यौ। 

फेरि अर्को प्रयास गर्यौ भनेर तेस्रो एल्बम निकाले त्यसमा पनि खासै सफल भइएन।  काठमाडौ पढ्छु भनेर आए। पढाईका लागि छुट्याइएको पैसा एल्बममा लगाईयो सुरुकोमा  प्रतिफल राम्रो आएपनि दोस्रोमा घाटामा बेहोर्नुपर्यो। काठमाडौं त बस्नु थियो अनि मैले रेस्टुरेन्टहरुमा दोहोरी साझहरुमा गाउन थाले। २०५६ देखि ६२÷६३ सम्म बढो संघर्ष रह्यो। अनि पछी मात्रै केही सहज भयो।

संघर्षको दिनहरुमा परिवारको सहयोग के कस्तो रह्यो ?
आफ्नो छोरा हरेकले राम्रो बाटोमा जाओस् नै भन्ने चाहन्छन्। मेरो पनि यस्तै थियो। फेरि संगीत क्षेत्र नराम्रो त होइन तर समाजमा यसलाई नराम्रो नजरले हेर्ने स्थिति निर्माण भएको थियो। तर पनि आफू गाउँघरमा चर्चामा रहेको र रेडियो क्यासेटमा गीत बज्ने भैसकेको हुनाले पनि मुमालाई राम्रैसँग बुझाउन सकेको थिए। 

बुवा ४/५ वर्षपछि रिटार्यड भएर आउनु भएपछि ‘छोराको पढाई जिरो छ। फेरि पढ्छु पनि भनिरहेको छ तर पढिरहेको छैन। रेस्टुरेन्टमा गाउँछु कुनै नाम छैन दाम पनि छैन।’ भन्ने सोच्नुभयो।  यसरी लगभग १० वर्षको समय काम गर्दैगर्दा घर परिवारबाट पनि एक किसिमको दवाव थियो।  अब यत्रो समय संगीत क्षेत्रमा समर्पित गरिसकेपछि अब केही आयश्रोत आउने बाटो समाउनुपर्यो भन्ने थियो।  र, बिस्तारै गायन क्षेत्रबाट नै व्यावसायिक सफलता मिल्दै गएपछी परिवार पनि सन्तुष्ट नै रहनुभयो।

कहिलेकाहि अब संगीत क्षेत्रतिरको बाटो छोडिदिउ भन्ने सोच मनमा आउथ्यो कि नाई ?
आएको थियो। घरबाट ठुलो प्रेसर आएपछि मनमा यस्तो कुरा आउथे। संगीत क्षेत्रमा १० वर्ष बिताइसकेको छु। मान्छेको आयु कति नै लामो हुन्छ र। कमाउने भन्नेको त अब थोरै छ। गीत संगीतमा मात्रै रमाएर समय कटाउदा परिवारको जिम्मेवारीको कुरा मनमा आउथे र घर परिवारमा पनि यो कुरा उठ्थ्यो नै। मैले पनि ठिकै छ यति गर्दागर्दै पनि हुन सकिएन भने त विदेश जानपर्छ भन्ने सोचिरहेको थिए। 

एकजना गाउँकै दाई विदेश पठाउनुहुन्थ्यो। उहाँलाई दुबईको लागि प्रक्रिया अगाडि बढाई दिन पनि भनेको पनि थिए। पासपोर्ट पनि बनाएर सबै कुरा भइसकेको थियो। तर संयोग भन्नु पर्छ ठ्याक्कै मेरो नयाँ एल्बम पनि बजारमा ल्याएको थिए। भीसा पनि लगाएकोे थिए। भीसा आयो। भीसा आउने दिनहरूमा चमत्कार भयो। गीतहरु एकदमै चल्न सुरु भए। 

यता फेरि गीतका लागि भ्याइनभ्याई सुरु भयो। यसरी त्यो समय अनौठो बन्यो। गीत चलिसके पछि त बिदेश जाने कुरा भएन। र, गीत संगीत तिर नै लागे। 

धैर्यता सबैभन्दा ठुलो कुरा रहेछ अनि लगनशीलता। यी सबै कुराको संयोग मिल्नुपर्ने रहेछ। कोहि मान्छे एकै गीत गाएर हिट हुन सक्छ। कसैलाई केही समय लाग्न सक्छ। त्यसैले थोरै भाग्य पनि हुन्छ कि लाग्छ। 

गाउनु, नाच्नु र अभिनय मध्ये सबभन्दा सजिलो लाग्ने विषय कुन हो ?
नाच्नु गाउनु संगीतमा सुरुवातदेखि नै सम्बन्धित भएर जोडिएका विषय हुन्। तर कुन विषयमा थोरै बढी दक्षता भन्ने कुरा हो। मलाई चाहिँ गाउन सजिलो लाग्छ। फेरि अन्य कुरा एउटा गायकमा हुनु भनेको प्लस पोइन्ट हो। त्यसैले पनि गर्ने गर्छु नै। 

म अभिनयको क्षेत्रमा कसरी प्रवेश गरे भन्ने कुरा पनि जब गीत सुनिने मात्रै न भएर हेरिन थाले तब गायकहरुलाई बीच–बीचमा देखाउने चलन हुन्थ्यो। यसरी गायकलाई त कसैले चिन्ने स्थिति रहेन अनि आफ्नो गीतमा आफुले पनि अभिनय गर्नुपर्छ भन्ने लागेपछि अभिनयको यात्रा पनि सुरु भयो र पछि अरुको गीतहरुमा पनि अभिनय गरे।

कमेन्ट लोड गर्नुस