सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते सवारी पास बनाउने दुईजना पक्राउ

२०७८ असार २८, ०८:४१ खबर संवाददाता

वीरगञ्जः किर्ते सवारी पास बनाउने दुईजना पक्राउ परेका छन् ।  बाराको कलैया उपमहानगरपालिका– १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया–३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह पक्राउ परेको बारा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका जयनारायण ना १ ज ७२८८ नम्बरको सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।

शनिबार मध्यान्न १२ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका– १ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गरिरहेको थियो । कलैयादेखि काठमाण्डौ जान लागेको ना १ ज ७२८८ नम्बरको सुमो  चेकजाँचका क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास फेला परेको थियो ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले कलैया–४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । 

पसलबाट प्रहरीले २ थान प्रिन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

कमेन्ट लोड गर्नुस