सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवास अनुदान नपाएकालाई तीन लाख दिइने

२०७८ असार २७, ०४:५४ रासस

काभ्रेपलाञ्चोक: भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले तीन लाख आवास अनुदान दिने भएको छ। भूकम्पको छ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो।

गाउँपालिकाको हालै सम्पन्न नवौँ अधिवेशनले पुनःनिर्माण प्राधिकरणको लाभग्राहीमा सूचीकृत नभएकालाई आवास अनुदान बराबर तीन लाख दिने निर्णय गरिएको हो। यसका लागि कानून, नीतिनियम बनाएर आगामी आवको शुरुवातसँगै छानबिन गरेर अनुदान रकम वितरण गरिने गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए। 

उनले भने, “पहिलो कानून बनाएर वास्तविक भूकम्पपीडित छानबिन गरी अनुदानस्वरुप घर बनाउन प्रतिपरिवार तीन लाख दिन्छौँ।” उनका अनुसार तत्कालीन अवस्थामा लाभग्राहीमा सूचीकृत भएकालाई गाउँपालिकाको अनुदानले निकै राहत पुग्नेछ। 

गाउँपालिकामा रहेका दश वडामा करीब एक सयभन्दा बढी परिवार पुनःनिर्माण प्राधिकरणको अनुदानबाट छुटेका हुनसक्ने अनुमान गरिएको छ। अनुदान रकम वितरण गर्न गरिने अनुगमनले वास्तविक भूकम्पपीडित परिवार तथा कति परिवारले प्राधिकरणको अनुदानबाट आवास निर्माण गरे नगरेको एकीन तथ्याङ्क आउने कुँवुरले बताए। 

आवास पुनःनिर्माणका लागि जिल्लाका ८४ हजार ५७० भूकम्पपीडित परिवारले पुनःनिर्माण प्राधिकरणसँग आवास अनुदान सम्झौता गरेका थिए। त्यसमध्ये ७८ प्रतिशतले आवास पुनःनिर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जनाएको छ। सो कार्यालयले निषेधाज्ञाका कारण केही भूकम्पपीडित लाभग्राहीलाई भूक्तानीमा दिलाइ भएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस