हिलो न छुनेहरु अनुदान पचाउँदैछन्, वास्तविक किसान ओझेलमा परेः कृषिविद् सापकोटा
धनगढी: कृषिविद् मित्रलाल सापकोटासँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाइको थोरै व्यक्तिगत संघर्षको जानकारी गराई दिनुस् ।
म २०४२ सालदेखि नै विद्यार्थी राजनीतिसँग जोडिएर २०४७ सालको आन्दोलनमा सहभागी पनि भएको थिए। त्यतिखेर म नवलपरासीबाट गिरफ्तार भएर केही समय जेल पनि बसे। यसरी विभिन्न आरोह अवरोह हुँदै गर्दा नेपालमा चलेको बेथिति देखेर नेपाललाई नेपाल नै बनाउन नेपाली राजनीतिले किन सोचेन ? जहिल्यै स्वाइजरल्याण्ड, सिंगापुरका मात्रै कुरा मात्रै गरिए नेपाललाई नेपाल बनाउने कुरा किन गरिएन ? हाम्रो यहाँ भएको प्रविधि, हाम्रो यहाँ भएको मौलिकतालाई चाहिँ किन अवलम्बन गर्न सकिएन ? भन्ने कुराको चिन्तन गर्दै थिए।
चिन्तनकै सिलसिलामा म जरोकिलो महाअभियानका संकल्पकर्ता डा. निर्मलमणी अधिकारी ज्यूको सम्पर्कमा आए र यसपछि म अनवरत रुपमा जरोकिलो महाअभियान अन्तरगत हाम्रो पार्टीको केन्द्रिय उपमहासचिवको रुपमा रहेर काम गरिरहेको छु। म अहिले त्यस्तै कृषि विभागको संयोजकको रुपमा काम गर्दै छु।
कुनैबेला खाद्यान्न निर्यात गर्ने मुलुकले पछिल्लो समय आएर सबै आयात मात्रै गर्नुपर्ने स्थिति बन्यो। कसरी यस्तो भएको ठान्नुहुन्छ ?
मुख्य गरेर २०४५/४६ साल सम्म हेर्याे भने नेपाल कृषिमा सम्पन्न यस्तो देश थियो कि जसले बंगलादेश र दक्षिण कोरिया लगायतका विभिन्न देशहरूमा खाद्यान्न निर्यात गर्दथ्यो। तर दुर्भाग्यको कुरो आज हामी चामल नै ४० अर्बदेखि ५० अर्बको बीचमा आयात गर्छौ। दाल चामल र मासुजन्यको कुरा गर्दा त १ खर्ब भन्दा बढीको हामीले आयात गर्छौ।
हामीले आफ्नो कृषिलाई सम्पन्न कसरी बनाउने भन्ने सम्बन्धमा ठोस किसिमको निती सरकारले ल्याउन सकेको छैन। तथ्यांकमा बनाउनकै लागि बनाइएका कुराहरु, कृषि अनुदानका कुराहरु मात्रै गरिएकाले र हिजो जो आत्मनिर्भर किसान थिए। जसले आफ्नो लागि चाहिने तेलदेखि मरमसलासम्म आफै उत्पादन गर्दथे। ती किसानलाई निर्वाहमुखी बनाउने, तिनीहरुलाई अपमानित गर्ने, निर्वाहमुखी किसान भनेर उनीहरुलाई पाखा लाउने, रैथाने बीउ हरुलाई किनारा लगाउने र अरुको समान बेच्नको लागि वातावरण बनाउने एउटा परिपाटीको जो सिर्जना गरियो। यसले गर्दामा नेपालमा कृषिजन्य कुरा ह्रास हुँदै आइरहेको पहिलो कारण।
दोस्रो कारण, नेपालमा गाउँ मासिँदै गयो, जमिनलाई मासिँदै गयो। कृषि भूमिलाई सुरक्षित गर्ने काम गरिएन। खण्डिकरण गर्दै गइयो। सहरीकरण, विश्व बैंक अन्तराष्ट्रिय मुद्रा कोषका पैसालाई यहाँ चलाउनको लागि स्मार्ट सिटीको नाममा सहरी विकास मन्त्रालय नै बनाउने, कहिले विभाग बनाउने इत्यादि कुराबाट जसरी जमिनलाई खण्डिकरण गर्यो। रियलस्टेटका केही व्यक्तिहरुले २०६३ यता जमिनलाई खण्डीकरण गरे जमिनलाई घरेडीको रुपमा बेच्ने र बालुवा र बगर बनाउने। जुन परिपाटीहरु सिर्जना भए यसले खेतीयोग्य जमिनमा पनि निकै ह्रास हुँदै गयो।
तेस्रो कारण; नेपालमा कृषि जनशक्तिको संरक्षण नेपाल सरकारको कृषि नितिले कहिल्यै पनि सकेन। कृषि जनशक्ति भनेको युवा शक्ति हो। तर युवाहरुका लागी त देश देशमा भिसा खोलेका छौ।त्यहाँ जाउ। त्यहाँ पठाउछौ। फ्री भिसामा पठाउछौ अथवा मेनपावर कम्पनीहरुलाई इमपावर गर्ने जुन सरकारको नीति रह्यो। त्यसैले युवा शक्तिहरुलाई कृषिमा रोक्न नसकेर। उनीहरुलाई सहरतिर लैजाने र सहरबाट पनि विदेश पलाएन गराए रेमिटेन्समा बाच्न सिकेको जुन नीति छ। त्यसले गर्दा जनशक्ति पनि पलायन हुन गयो। यसले गर्दा खेरी गाउँका धेरै जग्गाहरु बाझो छन्।
चौथो कारण, हिलो र मैलो न छोएका मान्छेहरूलाई कृषकका रुपमा परिभाषित गरियो। जसले खेत देखेको छैन, गमलामा धान रोप्छ, गालामा धानको माला लगाउँछ। ती व्यक्तिहरु चाहिँ किसानका नेता। हिलो न छुनेहरु अनुदान लिएर त्यो अनुदानलाई पचाउने परम्परा छ। यसले वास्तविक किसानसँग कृषिका लागि छुट्याइएको अति न्यून पनि बजेट उनीहरुको खेतसम्म पुग्न सकेको छैन। जसले वास्तविक उत्पादन गर्ने किसान निराश छन्, उत्पादन गर्न सकिरहेका छैनन्। र, अर्को कारण विषादी औषधिका कारण हाम्रो मौलिक बिऊहरुमा ह्रास आएर र रसायनिक मलको अत्यधिक प्रयोगले गर्दा उत्पादनमा ह्रास आएको छ। भएको उत्पादन पनि विषादी युक्त भइरहेको छ। छिटो किरा लाग्ने सड्ने हुन्छ र पौष्टिक पनि नभएकोले यस्तो स्थिति आएको हो।
युवा शक्तिलाई देशमा रोक्नुपर्छ भन्ने कुरामा अहिलेको ग्लोबल युगमा बन्देज लगाएर रोक्न, सम्भव र स्वभाविक होला र ?
हामी ग्लोबल युगमा छौँ। मुठ्ठीमा संसार छ। युवा शक्ति जहाँ अवसर पाउछन् त्यहाँ जान्छ त्यो आफ्नो ठाउँमा छ। हो सरकारले यहाँ अवसर सिर्जना गर्नुपर्यो नी। कृषिमा एउटा गलत किसिमको भाषा निर्माण गरिएको छ।
हामीलाई के पढाइन्छ भन्दा पढेलेखेकाले हलो जोत्नु हुन्न कृषिमा काम गर्नु हुन्न। गाईबस्तु पाल्नु हुन्न। कृषि गर्ने व्यक्ति न्यून व्यक्ति हुन्, तिनीहरु अशिक्षित व्यक्ति हुन् भन्ने किसिमको हाम्रो पाठ्यक्रम र समाजका पढेलेखेका मान्छेहरुले जुन भाष्य निर्माण गरेका छन्। त्यो भाष्यले गर्दा युवा कृषिमा आकर्षित त हुँदैन। कृषिलाई जबसम्म सम्मान गरिदैन। सम्मान जनक पेशा बनाईदैन। कृषि गर्नेहरुलाई सम्मान गर्ने र पुरस्कृत गर्ने। किसान नै सर्वश्रेष्ठ पेशा हो भन्ने किसिमको भाष्य निर्माण हुँदैन तबसम्म पढेलेखेका शिक्षित युवा कृषि कर्ममा आउँदैनन्। आकर्षित हुँदैनन्। विदेशमा पनि नेपाली युवाले कृषि कर्म गर्छ।
वातावरण असहज भएका देशमा पनि काम गर्न उसलाई कुनै अप्ठ्यारो हुदैन। तर नेपालमा काम गर्दा चाहिँ हिनता बोध हुने यो स्थिती, भाष्य कसले निर्माण गर्यो ?यो कुरा परिवर्तन नगरेसम्म कृषि क्षेत्रतिर कसैको आकर्षण बढ्छ जस्तो लाग्दैन जस्तोसुकै जेसुकै योजना ल्याए पनि।
कृषि क्षेत्रलाई ध्यानाकर्षणको केन्द्रबिन्दु कसरी बनाउन सकिएला ?
सबैभन्दा पहिला त कृषि क्षेत्रका समस्या समाधान गर्नको लागि जुन–जुन कुरामा समस्या देखिएका छन् त्यहीँ ठाउँबाट समाधान गर्नुपर्छ। म आफैले मौलिक जरोकिलो पार्टीको कृषि नीति घोषणा गर्दै गर्दा यसको समाधानका उपायहरु स्पष्टसँग त्यहीँ उल्लेख पनि गरेका छौ। जमिनको समस्या जुन उत्पादन गर्ने व्यक्तिसँग जमिन छैन। अनि हामीले जमिनलाई उत्पादन गर्ने व्यक्तिको पहुँचमा पुर्याउनको लागी स्पष्ट के गर्न सकिन्छ त्यहाँ उल्लेख गरेका छौँ।