सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्यारालाइसिसले ग्रसित बझाङका बोहराको कैलाली अस्पतालले निःशुल्क उपचार गर्दै

२०७८ असार २७, १२:२४ खबर संवाददाता

धनगढीः प्यारालाइसिसले ग्रसित बनेका बझाङका नरबहादुर बोहाराको कैलाली अस्पतालले थेरापीमार्फत निःशुल्क उपचार गरिरहेको छ। 

बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ७ का बोहरा एक महिनादेखि प्यारालाइसिस भएर घरमै थन्किएका थिए। उनीलाई दुई महिनाअघि उक्त समस्या देखिएको थियो।

बोहराको काठमाडौँ, नेपालगञ्ज लगायत विभिन्न अस्पतालमा उपचार गराएपनि सञ्चो नभएपछि एक महिना जति घरमै थन्किएर बसेको बिरामीका दाई मानबहादुर बोहराले बताए।

उनका अनुसार बोहरा १२ वर्षको उमेरदेखि नै मृगालाको बिरामी थिए। उनलाई भारतको ब्याङलोरस्थित एक अस्पतालमा उपचार गरिएको थियो। सञ्चो लागेपछि बोहरा भारतमै रोजगारी गर्न थालेका थिए। 

अहिले बोहरा  ३४ वर्षका भएका छन्। स्वास्थ्यमा फेरि समस्या देखिएपछि बोहरा भारतबाट २ महिना अघि घर फर्केका थिए। भारतबाट फर्केर उनी घरमै बसेका थिए। ‘एक दिन खेतमा गोरु जोत्ने क्रममा एक्कासी बेहोस भएर ढले’ बिरामीका दाई मानबहादुर बोहराले सुनाए। 

त्यो दिनदेखि नै उनको दायाँ हातखुट्टा नचल्ने भए। विभिन्न अस्पतालमा लगिएपनि उपचार नभएपछि घरमै बसेका उनलाई फेरी खर्च जुटाएर धनगढी ल्याइयो। 

भाइको उपचारका लागि धनगढीका विभिन्न अस्पताल धाए तर कुनै पनि अस्पतालले उनी सञ्चो हुन्छन् भन्ने आश्वासन नदिएका मानबहादुर बताउँछन्।

फेरि उनीहरु ७ दिनअघि कैलाली अस्पतालमा गए। कैलाली अस्पतालमा मुटुरोग विशेषज्ञ सम्बन्धी डाक्टरले २ दिन आफ्नो निगरानीमा राखेको बोहराको उपचारमा संलग्न तथा कैलाली अस्पतालको फीजियो थेरापी विभागका प्रमुख तथा सिनियर फिजियो थेरापिस्ट डा. सुरेन्द्र ऐरले बताए। 

त्यसपछि उनलाई फिजियो थेरापी गर्नुपर्ने भन्दै फिजियो थेरापी विभागमा रेफर गरिएको थियो।  अहिले फिजियो थेरापीबाट केही सुधार भइरहेको डा. ऐरले बताए। 

‘एक हप्ता अगाडि उनलाई थेरापीमा भर्ना गरिएको थियो। अहिले उनी थोरै बोल्न र हिँड्न सक्ने भएका छन्’ उनले भने, ‘अस्पताल भर्ना हुँदा चल्न र बोल्न सक्ने अवस्थामा थिएनन्, दिशा पिसाब पनि ओछ्यानमै गर्नुपर्ने अवस्था थियो तर अहिले फिजीयो थेरापी गराएर हिँड्न र बोल्न सक्ने भएका छन्।’

उपचार थालेको तीन दिनमै उनको स्वास्थ्यमा सुधार देखिएको डा ऐरले बताए। एक डेढ महिनाभित्रै उनको स्वास्थ्य अवस्थामा पुरै सुधार ल्याउने प्रयास गर्ने डा. ऐरले प्रतिवद्धता समेत गरेका छन्। 

उनका अनुसार बोहरालाई प्रेसरले हानेर दाहिने साइडको ब्रेनमा प्यारालाइसिस भएको हो। 

उनले अहिलेसम्म ४० प्रतिशत जति छुट गरेर उपचार गराईरहेको तर शनिबारदेखि उनको निःशुल्क रुपमा उपचार गर्ने डा. एरले बताए। 

के हो प्यारालाइसिसको लक्षण ?
डाक्टर सुरेन्द्र ऐरका अनुसार प्रेसरले दाहिने वा देब्रे ब्रेनमा हान्यो भने प्यारालाइसिसको समस्या हुन्छ। जसकारण कहिलेकाही दाहिने हात खुट्टा चल्न नसक्ने हुन्छ। भने कमजोरी पनि हुन्छ।  वा पटक्कै बोली पनि बन्द हुन्छ।

यदि देब्रे साइडमा ब्रेनले हानेको छ भने दाहिने पट्टिको हात खुट्टा चल्दैनन्। बोली जान सक्छ। अर्थात कुनै बिरामीहरुमा हात चल्न सक्छ वा खुट्टा नचल्न सक्छ।
 

कमेन्ट लोड गर्नुस