सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघ र प्रदेश सरकारको बजेटमा निर्माणाधिन विद्यालय भवनको काम अलपत्र

२०७८ असार २६, ०५:२४ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिकामा संघीय सरकार र प्रदेश सरकारको बजेटमा निर्माणाधिन १० विद्यालयको भवनको काम अलपत्र परेको छ। संघीय सरकार र प्रदेश सरकारले विद्यालय भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकालाई बजेट उपलब्ध गराएकोमा काम अलपत्र परेको हो। 

धनगढी उप–महानगरपालिका १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयमा ८ कोठे दुई तले भवन निर्माणका लागि गत आर्थिक वर्षमा सम्झौता भएको थियो। तर जनता राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पन्तले विद्यालयको भवन निर्माणको काम अहिले अलपत्र रहेको बताए।  ‘गत फागुनमै विद्यालयमा ८ कोठे दुई तले भवनको लागि जग खनेर ढुङ्गा हालिएको थियो’ उनले भने, ’अहिले काम ठप्प छ। ठेकेदार पनि सम्पर्कमा छैन।’ 

कतिपय विद्यालयको भवन निर्माण काम सुरू नै हुन सकेको छैन। वडा नम्बर १४ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माणका लागि योजना छनौट गरिएको थियो। तर त्यहाँ निर्माण कार्यको सुरूवात नै हुन नसकेको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। 

धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित त्रिनगर माध्यमिक विद्यालय, १० स्थित जनकल्याण माध्यमिक विद्यालय, १७ स्थित भानु माध्यमिक विद्यालय, १२ स्थित शादरा माध्यमिक विद्यालय, १२ कै दुर्गा आधारभूत विद्यालय र १३ स्थित नवज्योती आधारभूत विद्यालय थप ८ कोठे भवन निर्माणका लागि छनौट गरिएको थियो। ती विद्यालयहरूमा भवन निर्माणका लागि ८० लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ। 

त्यस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर ९ स्थित सरस्वती आधारभूत विद्यालय र वडा नम्बर ६ स्थित धनगढी पोलिटेक्निक इन्स्टिच्युटको थप ४ कोठे भवन निर्माणका लागि छनौट गरिएको छ। ती ४ कोठे भवन निर्माणका लागि ५५ लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ।  

उता धनगढी उप–नगरपालिकाले भने निषेधाज्ञाले गर्दा ढिलो गरी काम सुरू भएको बताएको छ।  धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले कोरोनाका कारण काम प्रभावित भएको बताए। ‘केही काम त सम्पन्न भइसकेको छ’ उनले भने, ’केही काम भने निषेधाज्ञाले प्रभावित भयो, केही विद्यालयको भवन निर्माणको काम ठेकेदारको लापरबाÞहीले पनि प्रभावित भएको छ।’

उपमहानगर भित्रका १० वटा विद्यालयहरूमा थप ८ कोठे भवन निर्माण गर्न गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा सम्झौता भएको थियो। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस