सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कांग्रेस अधिवेशनको सरगर्मी, को-को छन् सभापतिमा आकांक्षी ?

२०७८ असार २६, ०२:२५ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औं महाधिवेशनको रौनक बढेको छ। केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिरहँदा जिल्ला सभापतिका दाबेदारहरू पनि दौडधुप गरिरहेका छन्‌।

कांग्रेसमा अब वडा तहका अधिवेशनहरू नजिक आइसकेको छ। १२ साउनदेखि वडा तहको अधिवेशन शुरू हुनेछ। त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।

महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेस डोटीमा पनि चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन्।

संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको छ। हिजोआज केन्द्रदेखि जिल्लासम्म सभापति, पदाधिकारीका बारेमा अड्कलवाजी गर्न शुरु भइसकेको छ। केहिदिन यता डोटी सभापति को बन्ने ? भन्ने चियो चर्चासंगै सभापतिका उम्मेदवारका आकांक्षीहरु धमाधम खुल्न थालेका छन्। भावी नेतृत्वका लागि कसरत शुरु भएको छ।

को को छन् जिल्ला सभापतिका आकांक्षीहरु ?

डोटीमा सभापति उम्मेदवारमा दर्जनको हाराहारीमा आकांक्षीहरु देखिएका छन्। जसमा हालका सभापति प्रदीप कुमार देउवा, उप–सभापति लक्ष्मण बहादुर सिंह, महासमिति सदस्य भुमिराज वडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही ,डिल बहादुर बम, पूर्व उपसभापति राम प्रसाद उपाध्यय, दिपक बिष्ट ,नेपाली काङ्ग्रेस डोटी ‘ख’ का क्षेत्रीय सभापति सिताराम जोशी, जिल्ला सदस्य तथा ‘क’ का पूर्वक्षेत्रीय सभापति जीत बहादुर खड्का लगायत रहेका छन्।

कमेन्ट लोड गर्नुस