सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नाबालक हत्या प्रकरण : विवेक नजन्‍मिँदै भएको त्‍यो घटना

२०७८ असार २६, ०६:५० खबर संवाददाता

धनगढी: कैलालीको टीकापुरका साढे तीन वर्षीय बालक विवेक बिष्टको प्रतिशोधकै कारण हत्या भएको प्रहरीको निष्कर्ष छ। उनको हत्या आरोपमा प्रहरीले उनकी दिदी नाता पर्ने १४ वर्षीय किशोरीलाई पक्राउ गरेको छ। 

पक्राउ परेकी किशोरीको परिवारले सात वर्षअघि एउटा घटना भोग्नु परेको थियो। उनकी दिदीमाथि आफन्तबाटै यौन हिँसा भएको थियो। यौन हिँसा गर्ने व्यक्ति अहिले जेलमा छन्। यौन हिँसाको घटनाले बिष्ट परिवारहरु एकापसमा विभाजित भए। कोही विवेक घटनामा आरोपित किशोरीको परिवारलाई अन्याय भएको भनेर भन्न थाले भने कोही काल्पनिक घटना रचेर निर्दोष व्यक्तिलाई जेल पठाएको भन्न थाले।

विवेकका बुबा दिलिप पनि सबै मिलेर बस्नुपर्ने कुराका पक्षमा उभिए। किशोरीको परिवारलाई दिलिप आफ्नो पक्षमा नरहेको भान भयो। त्यो घटनापछि पनि दुई परिवारका सदस्य एकअर्काको घरमा आउने जाने भैरह्यो। अहिले आएर विवेकको हत्यामा त्यो घटनाको सम्बन्ध जोड्न थालिएको छ।

विवेक र आरोपित किशोरीबीच पारिवारिक सम्बन्ध पनि छ। दुबैका बाजे भाई हुन्। मृतक विवेकका बुबा दिलिप बिष्टलाई दुई परिवारकाबीच ठूलै झैझगडा भएको सम्झना छैन। दिलिपले आफ्नै घरमा सानो पसल चलाएका छन। आरोपित किशोरी र उनकी दिदी कहिले काँही पसलमा आउथे। उनकी दिदीले एकदिन दिलिपको पसलबाट पैसा चोरिन्। त्यो दिन दिलिपले आरोपित किशोरीको दिदीलाई पिटेका थिए।

करिब १५ दिन अघि पनि दिलिपले उनलाई पिटेका थिए। उनले मृतक विवेकलाई किन रुवाएको भन्दै काकाले आफ्नो दिदीलाई पिटेको प्रहरीलाई भनेकी छन्। उनले दिदीले पिटाई खाएको कुराले आफू दुःखी भएको बताएकी प्रहरीले जानकारी दिएको छ।  

मृतक विवेक घर नजिकैको गणेश बाबा बोर्डिङ स्कुलको प्ले ग्रुपमा पढ्थे। आरोपित किशोरी कहिले काँही मृतक विवेकलाई स्कुल छोड्न जान्थिन्। उनी मृतक विवेकलाई भाईटीकामा टीका समेत लगाउथिन। अहिले तिनै किशोरी भाइको हत्या आरोपमा पक्राउ परेकी हुन।

प्रहरीसँगको बयानका क्रममा किशोरीले भनिन्, ‘खुट्टाको चाँदीको बाला झिकेर बाबुलाई पानीमा धेकेले।’ कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए।

कमेन्ट लोड गर्नुस