सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वृक्षारोपणका लागि वर्षेनी करोड बढी खर्च, प्रतिफल शून्य जस्तै

२०७८ असार २६, ०६:१६ कमल सावद

धनगढीः डिभिजन वन कार्यालय धनगढीको नर्सरीबाट शुक्रबार बिरुवा लिनेहरुको भिड थियो। उनीहरु लिप्टीस लगायतका बिरुवाहरु लग्दै थिए। उनीहरु मध्येका एक हुन कैलारी गाउँपालिका वडा नम्बर ३ का भिखराम डगौरा थारु।गणेश गौरी सामुदायिक वनका सल्लाहकार थारु आफै बिरुवा उखेल्दै थिए। सामुदायिक वनको खाली रहेको जमिनमा रोप्न उनले तीन हजार बिरुवा माग गरेका थिए। सामुदायिक वनले ५ हजार भाडा दिने गरि बिरुवा बोक्न ट्याक्टर पठाएको थियो। डगौराले भने, “पोहोर साल पनि वृक्षरोपण गरेका हौ। नर्सरी बनाएका छौ। ४/५ हजार बिरुवा लिप्टीसका छन्। केहि मरेर गयो। त्यो ठाउँमा फेरि लगाउने बिचार गरेका छौ। तीन हजार माग गरेका छौ।”

गणेश गौरी सामुदायिक वन जस्तै अन्य सामुदायिक वन, संस्था तथा व्यक्तिहरुले पनि डिभिजन वनको नर्सरीबाट बिरुवा लगिरहेका थिए। सुदूरपश्चिमको राजधानी कैलालीमा वृक्षारोपण लागि मात्रै प्रत्येक वर्ष करोड बढि खर्च गरे पनि उपलब्धि शून्य बराबर छ। जिल्लामा करोड बढि खर्च गरी बिरुवा खरिद, संरक्षण र वृृक्षारोपण गरिएको आधारमा वन क्षेत्र बढ्नुपर्ने हो। तर सरकारको खर्च र बिरुवाको सङ्ख्या उच्च देखिए पनि बिरुवा रोपअनुसार वन क्षेत्रफल भने बढ्न सकेको छैन। सरकारले वृक्षारोपणलाई कार्यक्रम जस्तै बनाए पनि सम्बन्धित निकायले बिरुवा हुर्काएर वन बनाउने विषयमा भने चासो देखाएको छैन। यसबाट राज्यको लगानी बालुवामा पानीजस्तै भएको सरोकारवाला बताउँछन्।

यता डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डबल बोहराले उत्पादन गरिएको २० प्रतिशत बिरुवा सुरुमै मर्ने गरेको बताए। उनले भने, “बिरुवा कलिलो हुन्छन्। २० प्रतिशत पहिले नै मर्छ। हाम्रो ८० प्रतिशत बाँच्छन भन्ने विश्वास हो। तर यकिन तथ्याँक भने छैन।” डिभिजन वन कार्यालय धनगढीलाई मात्र चालू आर्थिक वर्षमा नर्सरी शिर्षकमा ८६ लाख रकम विनियोजन गरिएको छ। शहरमा वृक्षारोपणका लागि ३ लाख, सब डिभिजन नर्सरीमा बिरुवा उत्पादनका लागि ५ लाख, डिभिजन वन कार्यालयमा आइटेक वन नर्सरी निर्माणका लागि ४० लाख, बहुवर्षिय बिरुवा उत्पादनका लागि १२ लाख ५० हजार, बुढीतोलामा हाइटेक नर्सरी निर्माणका लागि २० लाख र नर्सरी मर्मत सुधारका लागि ३ लाख ५० हजार विनियोजन गरिएको हो।

डिभिजन वन कार्यालय धनगढीले अन्य कार्यक्रममा रहेको रकमसमेत बिरुवा उत्पादनमा खर्च गरेको बताएको छ। नौ लाख बिरुवा उत्पादन गरिएको दाबी गरेको बेला अघिल्ला वर्षहरुका बाँचेका बिरुवाको भने तथ्याङक छैन। लाखौ खर्चेर प्रत्येक वर्ष बिरुवा रोप्दै आएको डिभिजन वन कार्यालयसँग रोपेका बिरुवाको समेत तथ्याँक भने छैन। तर रोपिएका बिरुवमा २० प्रतिशत समेत बाँचेका छैनन्। सामुदायिक वनहरुले लिएका बिरुवा पनि मर्दै आएका हुन्। बिरुवा बचाउने योजना बिनै डिभिजन वन कार्यालयले बिरुवा वितरण गर्दै आएको छ। डिभिजन वन कार्यालय धनगढीसँग चालू वर्षमा ८६ लाख बजेट रहेकोमा पहलवानपुरसँग ३२ लाख बजेट छ।

यो तथ्याङले कैलालीमा वर्षेनी करोड बढिको वृक्षारोपण हुने गरेको देखाउछ छ। तर तारबारसहित वृक्षारोपण गरिएका वनहरुमा बिरुवा बाँचेपनि अन्य ठाउँका बिरुवा भने मर्दै आएका हुन्। नर्सरीबाट लगेका २० प्रतिशत बिरुवा कलिला भएकै कारण मर्दै आएका छन् भने बाँकी बिरुवा समेत हेरचाहा नभएका कारण मर्न थालेका छन्। तर कुनै पनि डिभिजन वन कार्यालयसँग बाँचेका वा मरेका बिरुवाको तथ्याँक छैन। डिभिजन वन कार्यालय पहलवानपुरका डिभिजन प्रमुख कृष्ण भट्टले ४ ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेको बताए। नेपालमै सबैभन्दा बढी वन क्षेत्र रहेको कैलालीको वन प्रत्येक वर्ष मासिदै आएको छ। तर वर्षेनी करोड बढी वृक्षारोपणमा हुने खर्चको प्रभावकारीता भने देखिएको छैन।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस