धनगढी बजार क्षेत्रको झण्डै ८ कट्ठा सार्वजनिक जग्गा उद्योगी तायलको नाममा दर्ता
धनगढी : धनगढीमा भोगचलन दाबीको आधारमा मात्रै सार्वजनिक जग्गा प्रभावशाली व्यक्तिको नाममा दर्ता भएको खुलेको छ। खोलानाला, सडक र वन क्षेत्रको जग्गा प्रभावशाली व्यक्तिले भोगचलन रहेको दाबी गरेकै आधार बनाएर नगर विकास समितीले बिक्री गरेको देखिएको हो।
धनगढी बजार क्षेत्रको करोडौँ मूल्य पर्ने र अहिलेसम्म भोगचलन नगरेको जग्गा पनि नगर विकास समितीले व्यक्तिको नाममा दर्ता गरेको फेला परेको छ। मारवाडी समाजको भवन र मन्दिर बनाउन धनगढीका उद्योगी श्यामसुन्दर तायललाई झण्डै ८ कट्ठा जग्गाको लालपुर्जा दिइएको छ। तर त्यो ठाउँमा न अहिलेसम्म समाजको भवन बनेको छ न त मन्दिर नै निर्माण भएको छ।
तायलले धनगढी मुख्य बजारमा जोशी टाकिज पछाडिको ७ कट्ठा १९ धुर ऐलानी पर्ती जग्गा भोगचलनमा रहेको दाबी गरेका थिए। सोही आधारमा धनगढीका उद्योगी तायलका नाममा जग्गा दर्ताका लागि नगर विकास समितिले सिफारिस गर्दै लालपुर्जा नै दिएको हो। उद्योगी तायलले भने त्यो ठाउँको जग्गा आफ्नो र आनन्द जोशीको भोगचलनमा रहेको भएपनि सहमतिका आधारमा आफूले लालपुर्जा पाएको बताए।
‘त्यहाँ मारवाडी समाजको भवन र मन्दिर बनाउने योजना थियो तर समाजका पदाधिकारीले उक्त जग्गा मन पराएनन्,’ तायलले भने, ‘मैले अर्को स्थानमा २ कट्ठा जग्गा समाजको भवनका लागि दिएको छु।’
कैलाली खोला किनारको ऐलानी जग्गामा उद्योगी तायलले मारवाडी सेवा समाजको भवन र मन्दिर बनाउन आनन्द जोशीबाट दर्ता हुनुपूर्व नै ७ कट्ठा १९ धुर जग्गा खरिद गरेको देखिएको छ। धनगढी नगर क्षेत्रको वडा नम्बर १ देखि ५ सम्मको ९ सय ३१ विघा जग्गा धनगढी नगर विकास समितिले २०४८ देखि २०७२ सम्मको समयमा बिक्री गरेको छ।
नगर विकासले नगर क्षेत्रको ऐलानी पर्ती जग्गा व्यक्तिको नाममा दर्ताका लागि छानविन समिति बनाएर सिफारिस गर्ने गरेको भएपनि नगरलाई नै भविष्यमा के कति र कस्तो ठाउँमा जग्गा आवश्यक पर्न सक्छ भन्ने कुरा हेक्का नराखी नगर विकासले जग्गा बिक्री गरेको पाइएको छ।
२०६८ सालमा नगर विकासले गठन गरेको जग्गा दर्ता छानविन उप–समितिका संयोजक दीपेन्द्रबहादुर ऐरले भने जसको भोगचलन थियो उसैको नाममा ऐलानी पर्ती जग्गा दर्ता गर्न सिफारिस गरेको दाबी गरेका छन्। ‘हामीले भोगचलन दाबीको आधारमा जग्गा दर्ताका लागि सिफारिस गरेका हौँ।
खोलानालाको जग्गा सिफारिस गरेका छैनौँ,’ उनले भने। नगर विकासका पदाधिकारीहरुले व्यक्तिगत सम्वन्ध र अन्य प्रभावको आधारमा खोलानालाको भाग समेत पर्ने गरी जग्गा बिक्री गर्दा र त्यस्तो जग्गामा घर लगायतका संरचना निर्माण हुँदा धनगढी डुबान हुन थालेको छ।
धनगढी नगर विकास समितिले जग्गा बिक्री गर्दा एकै व्यक्तिलाई डेढ विघा र एकै ठाउँको ५ कित्ता जग्गा दर्ताका लागि सिफारिस दिने गरेको पाइएको छ। प्रभावशाली व्यक्तिले दिएका निवेदनमा कसैको दाबी विरोध नपर्ने वातावरण निर्माण गरेर सहजै दाबी गरिएकै परिमाणको जग्गा दर्ता गरिएको छ।
यता धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड भने खोलानाला अतिक्रमण गर्दै निर्माण भएका संरचनामा डोजर लगाउने बताउँदै आएका छन्।