सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियन्ता हमालले सञ्चालनमा ल्याए धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’

२०७८ असार २५, १०:४० खबर संवाददाता

धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याएका हुन्।

शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा सिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरे।

हमालले उक्त यान धनगढीवासीमा समर्पित हुने बताउँदै भने, ‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको हुन्छ। त्यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ। शव यात्राका लागि अधिकासंले गाडी दिनै नमान्ने समस्या पनि छ। त्यसैले महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालन गरिएको हो।’ उनले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान सो यानको व्यवस्था गरिएको बताए।

यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा‍. हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए। यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ। साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ।

सो यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ।

यसरी जन्मियो महाप्रस्थान यानको परिकल्पना

गत पुस ३ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका स्थानीय पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त भट्टको निधन भयो। धनगढी हसनपुरबाट गौरीगंगा नगरपालिकास्थित शिवगंगा नदीको आर्यघाटमा अन्तिम संस्कारको लागि लगियो। मृतक भट्टको शव यात्रामा उनका छोरा पुष्करदत्तका बाल सखासमेत रहेका सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालको पनि सहभागिता थियो। उपयुक्त गाडी नहुँदा कयौं पटक पार्थिव शरीर गाडीबाट झर्न खोज्दा फेरि राख्नुपर्ने कारुणिक दृष्यले अभियन्ता हमाललाई मर्माहत बनायो।

गत पुस २३ गते नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकका बुवा बुद्धिराज पाठकको निधन भयो। पाठकको अन्तिम संस्कार धनगढीस्थित मोहना आर्यघाटमा भयो। पाठकको पनि भट्टको जस्तै सास्तीयुक्त शव यात्रा थियो। शव वाहनबाट पार्थिक शरिर नै खसेको दृश्य देख्न बाध्य थिए हमाल जस्तै शव यात्रामा गएकाहरु।

जसको प्रमुख कारण धनगढीमा उपयुक्त गाडी नहुनु नै हो भन्ने लागेर अभियन्ता हमाललाई दुखित बनायो। शोकाकुल परिवारजनले आफ्नो प्रियजनको अन्तिम संस्कारको क्रममा भोग्दै आएको सास्तीलाई हटाउन अभियन्ता हमाल नौलो सामाजिक कार्य गर्ने निधोमा पुगेका थिए। सोही अनुसार महाप्रस्थान यान सञ्चालनम ल्याइएको हो।

 

कमेन्ट लोड गर्नुस