सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन मुद्दाकी आरोपित ज्वाला संग्रौलाको फाइल पुग्यो सरकारी वकिलको कार्यालय

२०७८ असार २४, ०४:३५ खबर संवाददाता

काठमाडौँ: सामाजिक सञ्जालमा उग्र टिप्पणी गरेर लामो समयदेखि भाइरल बन्दै आएकी सामाजिक अभियान्ता ज्वाला संग्रौला (टिका) तीन सातादेखि प्रहरी हिरासतमा छिन्।

जेठ १४ गते आफ्नै साथी युवा संघमा आबध्द खुश्बु घिमिरेमाथि हातपात गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेकी ज्वालाविरुद्ध तीन वटा मुद्दा एकैसाथ चलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए।
कुटपिटमा संलग्न भएको मुद्दा अगाडि बढेलगत्तै कार्य क्षेत्रमा खटिएका ट्राफिक प्रहरी मणिनन्द झामाथि रंगभेदी र जातीय विभेदको अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो।

बस्नेतका अनुसार असार ६ गते पक्राउ परेकी संग्रौलाको तीन पटक म्याद थप भएको छ। अनुसन्धानका क्रममा जन्म दर्ता र विवाह दर्ताको सरकारी कागजात किर्ते गरेको समेत खुल्न आएको छ। त्यसैगरी घिमिरेमाथि कुटपिट र झाविरुद्ध रंगभेद र जातीय विभेदको शब्द प्रयोग गरेको आरोप पनि लागेको छ।

तेस्रो पल्ट थपिएको म्याद हिजो सकिएपछि आज उनलाई अदालतमा पेश गरिएको बस्नेतले जानकारी दिए। उनीसँगै सरकारी कागजात किर्ते गरेको अभियोगमा उनका पति भनिने हिमाल उपाध्याय र अन्य एक जना महिलासमेत हिरासतमा छिन्।

प्रहरीले सबैको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएर मुद्दाको प्रक्रिया अघि बढाएको पनि बस्नेतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस