सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यदलका नेताहरू भन्छन् : सहमतिको विन्दुमा पुगिसक्यौँ

दुवै पक्षका नेता आन्तरिक छलफलमा

२०७८ असार २४, ०२:१४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका नेताहरूले पार्टीभित्रको विवाद समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन्। 

बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दाबी गरे। बैठक सकारात्मक दिशामा अघि बढेको दाबी गर्दै उनले बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। 

यस्तै, नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले पनि बैठकमा प्रगति हुँदै गएको दाबी गरे। ’अब बैठकलाई निष्कर्षमा पुग्नका लागि धेरै लामो समय लाग्दैन। हामी लगभग सहमतिको विन्दुमा पुगिसकेको छौँ। २÷४ घण्टा समय लिन पनि सक्छ। तर, अब धेरै परसम्म जाँदैनौँ’ उनले भने। 

निर्णायक बैठकका लागि आजै बेलुका सात बजेको लागि कार्यदलको बैठक राखिएको छ। अहिले कार्यदलको बैठक सकिएपछि दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। 

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो। 

तर, नेताहरुले वार्ता सकारात्मक भएको दाबी गर्दै आइरहेको भएपनि ओली र नेपालबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो। 

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए। छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए।

कमेन्ट लोड गर्नुस