सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनियमित विद्युत रोक्न प्रादेशिक कार्यालय अत्तरियालाई अनेरास्ववियूको ध्यानाकर्षण

२०७८ असार २४, ०८:२५ खबर संवाददाता

धनगढी: अनेरास्ववियू (क्रान्तिकारीले) नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार विद्युत कटौती अनियमित भएको भन्दै अनेरास्ववियूले प्रादेशिक कार्यालय अत्तरियालाई ध्यानाकर्षण पत्र बुझाएको हो। 

“सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा नेपाल विद्युत प्राधिकरणको लापरवाही, अस्तव्यस्तताले नियमित सेवा प्रवाहमा अवरोध हुनु, छिनछिनमा लाइन कट्ने, भोल्टेज कम हुने जस्ता स साना कारणले गर्दा आम नागरिक, विद्यार्थी, किसानहरु मर्कामा पर्दै आएका छन्। यस्तो अनियमित विद्युत कटौतीले देशमा लोडसेडिङ्ग अन्त्य भएको घोषणालाई जिस्क्याइ रहेको महशुश भएको छ।” ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

अघोषित लोडसेडिङ्ग देखाएर विद्युत कार्यालय व्यापारीहरुको स्वार्थमा त छैन भन्ने आशंका उब्जाएको र यस्तो लापरवाहीले विद्यार्थीहरुको अनलाइन कक्षामा बाधा पुग्न गई सबैभन्दा बढी मर्का विद्यार्थीहरुलाई परेको पत्रमा उल्लेख गरिएको छ। 

साथै यस्ता गैरजिम्मेवार क्रियाकलाप रोक्न र विद्युतमा देखिएका सम्पूर्ण समस्याहरु तत्काल समाधान गर्न  ध्यानाकर्षण पत्रमार्फत अनुरोध गर्दै बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। 

कमेन्ट लोड गर्नुस