सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिटीहल निर्माणको काम अन्तिम चरणमा

२०७८ असार २३, ०६:४० कमल सावद

धनगढीः संघीय सरकारको बजेटमा धनगढीमा निर्माणाधिन सिटी हलको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण थालिएको सिटीहलको काम अन्तिम चरणमा पुगेको हो। 

निर्माण कम्पनीले कोरोना भाइरस संक्रमणको त्रासपछि सभा हलभित्र नै खाना–बस्नको व्यवस्था गरेपछि सिटीहल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सभा हलको निर्माण अवधि असार ९ गतेसम्म थियो। तर निषेधाज्ञाका कारण ६ महिना समय थप गरिएको छ। थप गरिएको समय अगाडि नै भवन निर्माणको काम पूरा गर्ने आयोजना कार्यालयको दाबी छ। 

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर प्रमोद पन्तले ८५ प्रतिशत भौतिक प्रगति पुगेको बताए। उनले भने, ‘८५ प्रतिशत भौतिक पुगेको छ। लकडाउनले काम प्रभावित भयो। निर्माण सामग्री अभाव भयो। अहिले काम हुँदैछ।’

धनगढी सिटी हल निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको उनले  बताए। ‘६ महिना समय थप गरिएको छ। तर थप गरिएको समय भन्दा पहिला नै हामी काम सक्छौ। हस्तान्तरण गर्छाै’ उनले भने। 

निर्माणको काम पूरा भएपछि धनगढी उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरिने छ। तर उप–महानगरपालिकाले सञ्चालनको स्पष्ट मापदण्ड बनाएको छैन। आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्ने मै उपमहानगरपालिका अन्योलमा देखिएको छ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले ठेक्कामार्फत सिटी हल सञ्चालनका लागि योजना बनाएको बताए। तर उप–महानगरपालिकाले मापदण्ड निर्माण गर्न बाँकी रहेको उनले बताएका छन्। 

एक  बिघा क्षेत्रफलमा निर्माणाधिन सिटी हलमा एक साथ करिब एक हजार जना अटाउने क्षमता रहने छ। आपांगमैत्री बन्न लागेको सिटी हलमा अन्डरग्राउण्ड पार्किङको सुविधा हुनेछ। 

मुख्य तथा अडिटेरियम सभा हलमा ७ सय जना अट्ने सेमिनार हल रहेको छ। सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था पनि हुनेछ। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस