भुमिका फेरियो तर छोडेन फुटबलको नशाले

सुदुरपश्चिममा २०६८ सालमा फुटबलवाट स्वर्ण पदक दिलाउने खेलाडीहरु अहिले युवाहरुमाथि आफ्नो सपना देखिरहेका छन् । खेल्नका लागि अवसर पनि दिईरहेका छन् । फारवेष्ट पशुपति कपको चौथो संस्करणमा जुटिरहेका छन् । २०६८ सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण पदक जिताउन कप्तान खेम रावतको भूमिका अहिले पनि कसैले बिर्सेका छैनन् । फुटबलको स्वर्ण पदक गलामा भिर्दै गर्दा रावतले आफ्नो उज्वल भविष्यको सपना देखेका थिए । तर उनको सपना कहिले पूरा भएन । कुनै पनि क्लब तथा टिममा अवसर नपाएपछि उनले खेल्न पाएनन् र खेल जीवन नै रोकियो । प्रतियोगिता नै नभएका कारण आफूहरुले अवसर नपाएको पिडा भुलाउँदै युवाहरुमा भविष्य देखेर उनको टीमले ४ बर्षदेखि सुदूरपश्चिमको धनगढीमा फुटबल प्रतियोतिगा आयोजना गरिरहेको छ ।
खेम रावत कप्तान रहेको सुदूरपश्चिमको टोलीमा गोल किपर थिए हरि बोहरा । पोष्टमा पर्खाल बनेर उभिने बोहोराको खेल जीवनमा पनि पर्खाल नै लागेपछि उनले पनि खेल जीवन अघि बढाउन सकेनन् । अवसर नपाएपछि उनले पनि धनगढीमा फारवेष्ट पशुपति फुटबल प्रतियोगिताको आयोजक संस्था फारवेष्ट पशुपति क्लबमा आवद्ध भएर लागिरहेका छन् । मैदानमा खेल चलिरहँदा स्वर्ण जिताउने खेलाडीहरु आयोजक भएर व्यवस्थापनमा जुटेका हुन्छन् ।
७ वर्षअघि घुम्रो कपाल भएका डेबिट खड्कालाई बल दौडाउन र छक्काउन जो कोहीलाई मुस्किल पथ्र्यो । छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो टिमलाई स्वर्ण जिताउने क्रममा खड्का कहिले मैदानको ओल्लो छेउ त कहिले पल्लो छेउ पुग्ने खड्का अहिले फुटवल प्रतियोगिताको चौथो संस्करणको आयोजनाका लागि चाहिले आर्थिक संकलनका लागि दौडिरहेका छन् । कोषाध्यक्षको पदमा रहेका उनलाई त्यसको जो हो गर्न समस्या भईरहेको छ । अहिले सुदुरपश्चिमका टिमका अधिकांश खेलाडीहरु खेल्नबाट बञ्चित भएका छन् तर उनीहरुलाई फुटवलको मोहले भने छोड्न सकेको छैन । उनीहरुले आफुमाथि देखेको सपना अहिले युवा फुटवलरहरुमाथि देखिरहेका छन् र उनीहरुलाई खेल्नका लागि अवसर पनि दिईरहेका छन् । तर पनि प्रतियोगिता आयोजना गर्न भने ती खेलाडीलाई पनि हम्मेहम्मे भईरहेको छ ।

