सुदूर नेपाललाई विश्वसँग जोड्दै

झ्याप्प-झ्याप्प बत्ती जाँदा धनगढीका विद्यार्थी हैरान, भन्छन्- ‘अनलाइन कक्षा छुट्दा पढाई बिग्रियो’

२०७८ असार २३, ०२:१८ विन्दु चन्द

धनगढी: मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–५ तारानगरका तृप्त ढाँट नुहाएर बसिरहेका थिए। त्यो भन्दा अगाडि अनलाइन कक्षा सञ्चालन भएकाले उनी पढ्न बसेका थिए। तर बीचमै बत्ती गएपछि उनको कक्षा स्थगित भएको थियो। १ घण्टाको अवधिमा कम्तीमा पनि उनले ४/५ पटक नुहाएको तृप्त बताउँछन्। 

चर्को गर्मी, झन विद्युतको अनियमित कटौतीले उनी हैरान बनेका छन्। उनी एकदमै आक्रोशमा देखिन्थे। कक्षा सञ्चालन भएको बेला पटक–पटक बत्ती जाँदा धेरै रिस उठ्ने बताउँदै उनले भने, ‘पढ्न बसेको हुन्छाैँ, केही छिनमा त झ्याप्प बत्ती गइहाल्छ, त्यतिबेला यस्तो रिस उठ्छ मोबाइल नै फालिदिउँ जस्तो।’ 

उनी कक्षा २ मा पढ्छन्। तोते बोली बोल्दै उनी भन्छन्, ‘कती धेरै गर्मी हुन्छ। बत्ती आयो भने सर त्यतिबेलासम्म अर्कै कुरा पढाइरहेका हुन्छन्। केही बुझिन्न।’ 

पटक–पटक लाइन जाँदा बच्चाहरुलाई पढ्नै समस्या भइरहेको तृप्तकी आमा पुष्पा थापा ढाँट बताउँछिन्। ‘धेरै सास्ती खेप्नु परेको छ।  ५ मिनेटमा लाईन आउँछ ५ मिनेटमा जान्छ। नेट कनेक्ट गर्नै समय लाग्छ। स्र्माट सिम प्रयोग गरेका छौँ लाइट जाने बितिक्कै स्र्माटको टावर पनि जान्छ’ उनले भनिन्।  

बत्ती गएको बेला पढाई स्थगित हुने उनले बताइन्। ‘महिनाको शुल्क तिर्नुपरेको छ। पढाइ भने केही छैन। विद्यालय जस्तो प्रभावकारी पढाइ भइरहेको छैन’ उनले भनिन्, ‘अनलाइन कक्षाबाट पनि चित्त त बुझाउनु परेको छ तर छिनछिनमा बत्ती जाँदा धेरै समस्या भइरहेको छ।’

डाटाबाट कक्षा लिएपनि तालिकाबिना बत्ती जाँदा गर्मीले कोठामा बस्न नसकिने अवस्था रहेको पुष्पा बताउँछिन्। 

यहि समस्या धनगढी चौराहास्थित मित्रनगरका जगदीश राज विष्ट पनि झेलिरहेका छन्। उनी पनि मंगलबार दिउँसोको अनलाइन क्लास लिइरहेका थिए। तर बीचमा बत्ती जाने–आउने भएपछि उनी दिक्क मानेर बसिरहेका थिए। 
पसिनाले छ्यापछ्याप्ती भएका विष्ट बत्ती आउने बित्तिक्कै हतार हतार मोबाइलबाट अनलाइन कक्षा जोइन गर्छन्। तर जोइन गरेको ५ मिनेट नहुँदै फेरी बत्ती गयो। 

‘कुनै बेला सरले महत्वपूर्ण कुरा पढाइरहेका हुन्छन्। त्यतिबेला ठिक्क बत्ती गइदिन्छ। जसकारण हामी त्यो कुरा सिक्नबाट वञ्चित हुन्छौं’ उनले भने।  

कक्षामा पढाएको जस्तो अनलाइन कक्षाबाट नबुझिने उनी बताउँछन्। बत्ती गएको बेला विद्युत कार्यालयमा सम्पर्क गर्न खोज्दा फोनै नउठाइदिने गरेको उनको गुनासो छ। ‘फोन उठाएपनि कहिले केही समस्या भयो भन्छन्, कहिले केही समस्या’ जगदीश राज विष्टले भने। प्राधिकरणले विद्युत जाने आउने समय तालिका सार्वजनिक गरे सहज हुने उनले बताए। 

यस्तै पढाइरहेको समयमा छिनछिनमा बत्ती जाँदा विद्यार्थीको पढाई बिग्रिएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक शिवप्रसाद सापकोटाले बताए। ‘विद्यालय बन्द हुँदा अनलाइन कक्षा सञ्चालन गरिएको छ तर कक्षा सञ्चालन भएको बेला १५/२० मिनेटमा बत्ती जाने हुँदा पढाईमा असर परेको छ’ उनले भने। 

एउटा कक्षाको समय अवधिमा ४/५ पटकसम्म बत्ती जाने गरेको उनले सुनाए। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस