बझाङको केदारस्युँमा किसानलाई निःशुल्क फलफूलका बिरुवा वितरण

बझाङ: बझाङको केदारस्युँ गाउँपालिकामा निःशुल्क रुपमा फलफूलका बोट बिरुवाहरु वितरण गरिएको छ। मंगलबार कृषि ज्ञान केन्द्र बझाङको समन्वयमा बेताल भग्वती कृषि सहकारी संस्था लिमिटेडले फलफूलका बिरुवा वितरण गरेको हो।
गाउँपालिकामा एक जना किसान बराबर एक सय पचास ओटा बोटका दरले ५ सय पचास जना किसानलाई फलफूलका बोट बिरुवा निःशुल्क रुपमा वितरण गरेको कृषि ज्ञान केन्द्र बझाङका सुचना अधिकारी खडक खड्काले जानकारी दिए।
खड्काका अनुसार आँपका ४५ सय बोट, कागतिका ५५ सय बोट, रुख कटहरका २ हजार बोट, लिचिका १५ सय बोट, अनारका २५ सय बोट, केराका ४५ सय बोट, र अम्बाका १ हजार बोट गरेर जम्मा २१ हजार पाँच सय फलफुलका बोट बिरुवा वितरण गरिएका छन्।
उक्त संस्थाले गत बर्ष पनि गाउँपालिका भरिका कृषकहरुलाई १ सय पचास वटा टनेल, चारवटा हाते ट्याक्टर तथा बिउ बिजन बितरण गरेको थियो ।

