सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व–पश्चिम राजमार्गको अवरोध खुला

२०७८ असार २२, ०७:५१ रासस

चितवन – राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्व–पश्चिम राजमार्गको अवरोध खुला भएको छ। जिल्लाको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। 

बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो। स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए। नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ।

शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारबाही गर्ने, पोस्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले बताए। 

आइतवार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो। उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन्। बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी त्यही दिनदेखि बेपत्ता भएकी थिइन्। उनले त्यही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्। 

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस