सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनको प्रक्रिया पूरा, भवन निर्माणमा ढिलाई

फाइल फोटो
फाइल फोटो
२०७८ असार २२, ०६:४१ सरेन जैरू

धनगढीः धनगढीमा संघीय सरकारको बजेटमा निर्माण भइरहेको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्न आवश्यक सबै कानूनी प्रक्रिया पूरा गरिएको छ।

प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्न २०७४ पुसमा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी एमके जेभी कन्स्ट्रक्सन कम्पनीसँग १६ करोड ३६ लाखको लागतमा सम्झौता भएको थियो। 

निर्माण अवधिमा काम सम्पन्न नभएपछि ८ महिना थप गरिएको थियो। निर्माण कम्पनीले थपिएको म्यादअनुसार यही असारभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो। तर अहिले ९० प्रतिशत मात्र प्रगति भएको छ। 

निर्माण कम्पनी एमके जेभी कन्स्ट्रक्सनले संरचना निर्माण भइसकेको तर फिनिसिङ्गको काम बाँकी रहेको बताएको छ।

एमके जेभी कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि चन्द्र शाहले कोरोनाले काम प्रभावित भएको बताए। 'कोरोना महामारीले काम गर्न सकेनौँ।' उनले भने, 'सबै काम सम्पन्न गर्न अझै तीन/चार महिना लाग्छ।'

असार मसान्तभित्र निर्माण सम्पन्न गरि अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने भएपनि कोरोना महामारीको कारण देखाउँदै तीन महिना म्याद थप गर्ने तयारी समेत गरिएको छ। 

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी झङ्क थापाले असार २९ गतेभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भएपनि निर्माण कम्पनीले थप म्याद मागिरहेको बताए।

प्रादेशिक आयुर्वेद अस्पताल र सेती आयुर्वेदिक औषधालयलाई गाभेर सेवा विस्तार गर्नेगरी आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ। 

प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त प्रमुख डक्टर खगेन्द्रबहादुर बमले अस्पतालको लागि चाहिने अन्य उपकरणहरू एक्सरे मशिन, अल्ट्रासाउण्ड मशिन र प्रयोगशालाको लागि भौतिक उपकरणको व्यवास्थापनसमेत भइसकेको बताए।

प्रादेशिक अस्पताल सुचारू भए सेवाग्राहीले पेटसम्बन्धी रोगको उपचार, बाथ रोग, जण्डिर, पिनास, पाइल्सलगायतको रोगहरूको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार पाउने छन्।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस